सर्लाही, १७ साउन । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आर्थिक वर्ष २०८३/८४ लाई नेपालको दूरसञ्चार क्षेत्रको रूपान्तरणको वर्षका रूपमा अघि बढाइने घोषणा गरेका छन् । 

उनले चालू वर्ष नागरिकले प्रत्यक्ष अनुभूति गर्ने सुधार, गुणस्तरीय र भरपर्दो सेवा, आधुनिक दूरसञ्चार पूर्वाधार, सुदृढ सार्वजनिक सञ्चार प्रणाली तथा परिणाममुखी कार्यसम्पादनमार्फत सञ्चार क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य लिइएको जानकारी गराएका हुन् ।

उनले सो क्रममा देशव्यापी उच्च गुणस्तरको फोरजी सेवा सुनिश्चित गर्ने दाबी गर्दै चालू वर्ष नेपालमा व्यावसायिक फाइभजी सेवाको सुरुआत गर्ने जिकिर गरेका छन् ।

यसका साथै प्रत्येक नागरिकलाई भरपर्दो दूरसञ्चार र इन्टरनेट पहुँच उपलब्ध गराउने, ग्राहक अनुभव र सेवा गुणस्तरमा मापनयोग्य सुधार ल्याउने आश्वासन दिएका छन् । 

सञ्चालन घाटाका साथै निरन्तर आम्दानी घट्दै गएको नेपाल टेलिकमको रूपान्तरण र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने वाचा सञ्चारमन्त्री तिमिल्सिनाले गरेका छन् । 

चालू वर्ष दूरसञ्चार क्षेत्रको प्रभावकारी नियमन र गुणस्तर अनुगमन सुदृढ गर्ने र परिणाममुखी, उत्तरदायी र सुशासित दूरसञ्चार क्षेत्र निर्माण गर्ने घोषणा पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *