सर्लाही, १७ साउन । धनुषामा कर्फ्यु आदेशपछि बन्द भएको रेल सेवा पुनः सुचारु भएको छ ।
जिल्ला प्रशासन कार्यालय, धनुषाले कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेपछि रेल सेवा आजदेखि पुनः सुरु भएको हो ।
नेपाल रेल्वे कम्पनी लिमिटेडका निमित्त प्रशासन प्रमुख अजयकुमार सिंहले आइतबार देखि जयनगर-जनकपुर-भंगहा रेल खण्डअन्तर्गतका रेल सेवा जयनगरबाट कम्पनीको पूर्व निर्धारित समयअनुसार बिहान १० बजेदेखि नियमित रूपमा सञ्चालनमा आएको जनाएका हुन् ।
शुक्रबार नेपाल रेल्वे कम्पनी लिमिटेडले एक सूचना जारी गर्दै जयनगर-जनकपुर-भंगहा रेल खण्डको रेल सेवा कर्फ्यू आदेश जारी रहेसम्म बन्द रहने जनाएको थियो ।
स्थानीय प्रशासनले शनिबार कर्फ्यु आदेश हटाएको भोलिपल्ट आजदेखि पुनः रेल सञ्चालनमा आएको हो ।
