काठमाण्डाैं, १९ साउन । रुसको दक्षिणी भागमा पर्ने क्रास्नोडार क्षेत्रअन्तर्गत आर्खिपो–ओसिपोभ्कानजिकको व्यस्त समुद्री तटमा ड्रोन खस्दा तीन बालबालिकासहित सात जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । घाइतेमध्ये १७ जनाको अस्पतालमा उपचार भइरहेको स्थानीय मिडियाहरूले जनाएका छन् ।

क्षेत्रीय गभर्नर भेनियामिन कोन्द्रात्येभले यो घटनालाई ‘सर्वसाधारणमाथिको जानाजानी गरिएको आक्रमण’ भन्दै युक्रेनलाई दोष दिएको बीबीसीले जनाएको छ ।

यद्यपि, युक्रेनले घटनाबारे कुनै प्रतिक्रिया दिएको छैन । दुवैपक्षले सर्वसाधारणलाई जानाजानी निशाना नबनाएको दाबी गर्दै आएका छन् ।

ड्रोनको वास्तविक लक्ष्य के थियो भन्ने स्पष्ट नभए पनि केही युक्रेनी स्रोतहरूले विद्युतीय अवरोध (इलेक्ट्रोनिक जामिङ) का कारण ड्रोन समुद्री तटमा खसेको दाबी गरेका छन् ।

स्थानीय प्रत्यक्षदर्शीहरूले विस्फोटअघि गोली चलेको आवाज सुनेको बताएका छन्, जसले हवाई प्रतिरक्षा प्रणालीले ड्रोनलाई खसाल्ने प्रयास गरेको हुन सक्ने संकेत गर्छ ।

रुस–युक्रेन युद्धका क्रममा दुवैपक्षका आक्रमणबाट सर्वसाधारणको ज्यान जाने क्रम जारी छ । शनिबार रुसले राजधानी किभमा गरेको ब्यालिस्टिक मिसाइल आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *