सर्लाही, २६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले प्रयोग गरेको ‘कोर्रा हान्ने’ भन्ने शब्दप्रति नियमापत्ति जनाएकी छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद रानाले यस्ता अमानवीय र क्रुर शब्दहरूको प्रयोग लोकतन्त्र र मानव अधिकारको मर्मविपरीत हुने बताइन् । 

श्रम संस्कृति पार्टीका अध्यक्ष राईले गलत काम गर्नेलाई कोर्रा हान्नुपर्ने बताएका थिए । त्यसमा नियमापत्ति जनाएकी सांसद रानाले आफू विगत लामो समयदेखि बालबालिका र कैदीबन्दीको हकहितका लागि लड्दै आएको स्मरण गराइन् ।

‘मानिसलाई यातना दिने र कोर्रा लगाउने जस्ता कार्यविरुद्ध कानुन ल्याउन वकालत गर्ने व्यक्तिहरूमध्ये म पनि एक हुँ,’ उनले भनिन् । वर्षौंको मेहनतपछि नेपालमा शारीरिक यातनालाई निषेध गर्ने कानुन बनेको अवस्थामा पुनः यस्ता शब्दहरू सुन्नु दुःखद भएको उनको टिप्पणी थियो ।

अपराध जोसुकैले गरोस् वा जुनसुकै परिस्थिति होस्, नागरिकलाई कोर्रा हान्ने भन्नु शोभनीय नहुने उनले बताइन् । ‘यो गरिमामय सदनमा कोर्रा जस्तो शब्द प्रयोग हुनु उपयुक्त छैन । आफ्ना जनतालाई चाहे ती अपराधी नै किन नहुन्, यस्तो शब्द प्रयोग गरिनुहुँदैन,’ सांसद रानाले भनिन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *