सर्लाही, २९ साउन । रोल्पाको थबाङ गाउँपालिका–५ उवा कोटलबारामा बुधबार राति गएको पहिरोमा परेर मृत्यु भएका १० जनाको शव फेला परेको छ । 

घटनास्थलमा ५ जना र बाढीले बगाएर लगेको अवस्थामा प्युठानमा ५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । घटनामा ज्यान गुमाउनेमा ५ वर्षका बालकदेखि ८५ वर्षका वृद्धसम्म छन् ।

बुधबार राति कोटलबारा गाउँको सिरानबाट एक्कासि लेदोसहितको पहिरोले गाउँका ११ वटा घरगोठ पुरिँदा ठूलो मानवीय क्षति भएको हो । पहिरोमा परेर ३ जना अझै बेपत्ता छन् । उनीहरूको खोजतलास चलिरहेको छ ।

दुईजना गम्भीर घाइतेको बुटवलमा उपचार भइरहेको छ । पहिरो खस्दा भागेर ज्यान जोगाएका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगरको बुटवलमा उपचार चलिरहेको हो । उनीहरूले नै प्रहरीलाई १०० सयमा फोन गरेर राति घटनाको बारेमा जानकारी गराएका थिए ।

घटनास्थलमा १८ वर्षीया शान्ति पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनरखी पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८५ वर्षीया हस्तकला रोका मगरको शव फेला परेको हो ।  

त्यसैगरी रोल्पाको लुंग्री खोला र प्यूठानको माडी नदीका विभिन्न स्थानमा थप पाँच जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले नेपालखबरलाई जानकारी दिए ।

प्युठानमा शव भेटिएकामा ३८ वर्षीया जुन कुमारी पुन मगर (विष्णु पुन), ५ वर्षीय बालक अशोक पुन मगर, ८० वर्षीय बल बहादुर पुन मगर, ६६ वर्षीया मनी पुन मगर र ३४ वर्षीय महेन्द्र घर्ती रहेका छन् । 

पहिरोमा परी गम्भीर घाइते भएका हिमाल र सञ्जय लाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा सामान्य उपचारपछि थप उपचारको लागि प्रादेशिक अस्पताल बुटवल लगिएको छ । 

‘पहिरोले ९ वटा घर, एउटा घुम्ती पसल, २ वटा गोठ र एउटा चर्च पुरिएको छ,’ श्रेष्ठले भने । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *