सर्लाही, १४ भदाै । रसुवाको भोटेकोशीमा पानीको बहाव बढेसँगै स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरे पनि, बाढी पूर्वानुमान महाशाखाले हाल तटीय क्षेत्रमा ठूलो बाढीको जोखिम नरहेको स्पष्ट पारेको छ ।

यसअघि बिहान ल्हेन्दे खोला हुँदै भोटेकोशीमा पुनः बाढी आएको भन्दै रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुपप्रसाद अधिकारीले मानवीय तथा भौतिक क्षतिबाट जोगिन तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेका थिए ।

तर, बाढी पूर्वानुमान महाशाखाले भदौ १४ गते बिहान ५:४५ बजे एक अद्यावधिक सूचना जारी गर्दै त्रासपूर्ण अवस्था नरहेको प्रस्ट पारेको छ । महाशाखाले जारी गरेको सूचनाअनुसार, जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्राप्त सूचनाअनुसार भोटेकोशी नदीमा बाढीको बहाव केही बढेको छ

प्राप्त सूचनाअनुसार हाल नुवाकोटमा पनि बाढी केही बढेको छ, तर यो ठूलो छैन । नदी किनारा नजिक रहेका स्थानीयहरूले बाढी बढे पनि पहिलाको जस्तो नभएको भन्दै श्रव्य-दृश्य सामग्री सामाजिक सञ्जालमा प्रसारण गरिरहेका छन् ।

यसै सूचनालाई आधार मानी हाललाई रसुवा, नुवाकोट, र धादिङसम्म नदी आसपासको क्षेत्रमा ठूलो बाढीको जोखिम नरहेको महाशाखाले जानकारी गराएको छ ।

यसअघि यही भदौ १० गते बुधबार ल्हेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका विभिन्न क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको थियो ।

अघिल्लो विपद्को त्रास बाँकी नै रहेकाले नदीमा बहाव बढ्नासाथ तटीय क्षेत्रमा सतर्कता बढाइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *