सर्लाही, १९ भदाै । सरकारले जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिर आसपासको क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले जानकी मन्दिर क्षेत्रलाई ‘जोन ए’ का रूपमा संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रयास भइरहेका बेला सरकारले मन्दिर आसपासको क्षेत्रलाई संरक्षित स्मारकको दायरामा ल्याउने निर्णय गरेको हो ।

संरक्षित स्मारक क्षेत्र घोषणा भएपछि उक्त क्षेत्रमा हुने भौतिक संरचना निर्माण, पुनर्निर्माण तथा अन्य गतिविधिमा विशेष मापदण्ड लागू हुनेछन् ।

ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको मौलिक स्वरूपमा असर पर्ने गरी जथाभावी निर्माण तथा संरचना थप्न नियन्त्रण हुने अपेक्षा गरिएको छ ।

यसअघि पनि जानकी मन्दिरसहित आसपासको क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने प्रक्रिया अघि बढाइएको थियो । पुरातत्व विभागले पहिलो चरणमा जानकी मन्दिरसहित शिवमन्दिर, राममन्दिर, सोनारपट्टी, जनकचोक, शिवचोक, तेलहा-मडहा पोखरी, अंगराजसर पोखरी हुँदै बारहबिघासम्मको क्षेत्रलाई संरक्षित स्मारक क्षेत्रमा समेट्ने प्रस्ताव अघि सारेको थियो ।

जानकी मन्दिर जनकपुरधामको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको ऐतिहासिक सम्पदा हो । सन् १८९४ मा शिलान्यास भएको मन्दिरको निर्माण सन् १९११ मा सम्पन्न भएको थियो । मन्दिरलाई विश्व सम्पदा सूचीमा समेट्ने विषयमा लामो समयदेखि पहल हुँदै आएको छ ।

संरक्षित स्मारक क्षेत्रको घोषणा जानकी मन्दिरको संरक्षणसँगै यसको आसपासको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक वातावरण जोगाउने दिशामा महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *