एम्बुलेन्सबाट नवजात शिशुको तस्करी, ८ जना पक्राउ

Byसदाम हुसैन

२०८३ भाद्र २१, आइतवार २०८३ भाद्र २१, आइतवार २०८३ भाद्र २१, आइतवार

सर्लाही, २१ भदाै । मधेश प्रदेशको सीमासँग जोडिएको भारत बिहारको पूर्वी चम्पारणस्थित मोतिहारीमा नवजात शिशुको खरिद–बिक्री गर्ने अन्तरराज्यीय गिरोहको पर्दाफास भएको छ ।

प्रहरीले विशेष कार्यदल (एसटीएफ) को सहयोगमा एम्बुलेन्समार्फत नवजात बालिकाको तस्करी भइरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पकडीदयाल क्षेत्रमा नवजात बालिकालाई एम्बुलेन्समा राखेर अन्यत्र लैजाँदै गरेको सूचनाका आधारमा घेराबन्दी गरिएको थियो ।

त्यस क्रममा एउटा एम्बुलेन्स र अल्टो कार नियन्त्रणमा लिइएको थियो । घटनामा औरंगाबादका एक दम्पती तथा पटना क्षेत्रका दलालसहित ८ जना पक्राउ परेका छन् ।

उनीहरूको साथबाट १ लाख १२ हजार रुपैयाँ नगद, एम्बुलेन्स, अल्टो कार तथा विभिन्न मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नवजात शिशु -बालिका) को सौदा १ लाख १२ हजार रुपैयाँमा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

उद्धार गरिएकी बालिकालाई हाल विशाल चाइल्ड केयरमा चिकित्सकीय निगरानीमा राखिएको छ भने उनकी वास्तविक आमा अस्पतालमा उपचाररत रहेको बताइएको छ ।

नवजात शिशुको उद्धारका लागि प्रयोग हुने एम्बुलेन्स नै तस्करीको माध्यम बनेको घटनाले मानव बेचबिखनको स्वरूप कति भयावह बन्दै गएको छ भन्ने देखाएको छ ।

बिरामी तथा आपत्कालीन सेवाका लागि प्रयोग हुने सवारीसाधनमाथि समेत तस्कर हरूको पहुँच पुग्नु सुरक्षा संयन्त्रमाथि गम्भीर प्रश्न हो । बालबालिकाको खरिद- बिक्री सामान्य आपराधिक घटना मात्र होइन, यसले बाल अधिकार, मानव बेचबिखन तथा संगठित अपराधसँग जोडिएको गम्भीर जोखिमलाई संकेत गर्छ ।

अझ नवजात शिशुलाई निश्चित रकममा किनबेच गरिएको तथ्यले आर्थिक रूपमा कमजोर परिवार र असहाय अवस्थाको फाइदा उठाएर संगठित गिरोह सक्रिय रहेको आशंका बढाएको छ ।

गिरोहको जालो कहाँसम्म ? प्रहरीले पक्राउ परेकाहरूबीचको सम्बन्ध, बालिकाको वास्तविक परिवार, खरिदकर्ता, बिचौलिया र अन्य सम्भावित व्यक्तिहरूबारे अनुसन्धान गरिरहेको छ । साथै यस गिरोहले यसअघि पनि नवजात शिशुको खरिद–बिक्री गरेको थियो कि थिएन भन्ने विषयमा समेत अनुसन्धान भइरहेको छ ।

एक नवजात बालिकाको उद्धारसँगै घटना टुंगिनेभन्दा पनि यस्तो गिरोहको जालो कहाँसम्म फैलिएको छ र यसअघि कति बालबालिका बेचबिखनको सिकार भए भन्ने प्रश्नको जवाफ खोज्नु अहिले प्रहरीको मुख्य चुनौती हो । साथै अस्पताल, एम्बुलेन्स सेवा र सीमावर्ती क्षेत्रको निगरानीलाई थप प्रभावकारी बनाउनुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *