बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा पुनः ७ दिन थप

Byसदाम हुसैन

२०८३ भाद्र २१, आइतवार २०८३ भाद्र २१, आइतवार २०८३ भाद्र २१, आइतवार

सर्लाही, २१ भदाै । एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै आएको निःशुल्क सेवाको अवधि पुनः ७ दिन थप गरेको छ ।

सहज सञ्चार, खोज, उद्धार तथा राहत वितरण कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले एनसेलले यो निःशुल्क सेवा भदौ २० देखि थप ७ दिन अर्थात् भदौ २६ गतेसम्म उपलब्ध गराउने भएको हो ।

यससँगै प्रभावित क्षेत्रमा थप एक हप्तासम्म एनसेलका भ्वाइस, डेटा र एसएमएस सेवा निःशुल्क उपलब्ध हुनेछन् ।

यसअघि एनसेलले बाढी आएको दिन भदौ १० गते प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराउने घोषणा गरेको थियो । त्यसपछि निःशुल्क सेवाको अवधि ७ दिन थप गरी भदौ १९ गतेसम्म पुर्‍याइएको थियो ।

‘यस कठिन घडीमा सहज सञ्चार सुनिश्चित गर्न हामीले प्रभावित क्षेत्रमा निःशुल्क सेवाको अवधि पुनः ७ दिन थप गर्ने निर्णय गरेका हौं ।

अवरुद्ध भएका टावरमध्ये ९२ प्रतिशत पुनः सञ्चालनमा आइसकेकाले विपद्को समयमा हाम्रो यो निःशुल्क सेवाले प्रभावित समुदायलाई परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र उद्धार तथा राहत कार्यमा खटिएका टोलीलाई आवश्यक समन्वय गर्न ठूलो मद्दत पुग्ने विश्वास लिएका छौं,’ एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने ।

विपद्को समयमा सञ्चार सेवाले सूचना आदानप्रदान, आपसी समन्वय तथा खोज, उद्धार र राहत वितरणका कार्यलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्छ ।

निःशुल्क सेवाले प्रभावित समुदायका सर्वसाधारणलाई परिवारका सदस्य, आफन्त तथा उद्धार र राहत कार्यमा संलग्न टोलीसँग सम्पर्कमा रहन सहज बनाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *