काठमाण्डाै, २१ भदाै । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि आक्रमण नगर्न आदेश दिएका छन् । यो कदम अमेरिकी दूत स्टिभ विट्कफ र जारेड कुश्नरसँगको सम्पर्क तयारीसँग जोडिएको क्रेमलिन प्रवक्ता दिमित्रि पेस्कोभले शनिबार बताए ।

‘उहाँहरूले राष्ट्रपति पुटिनसँग भेट वार्ता गर्नुहुनेछ । सामान्यतया विगतमा यस्ता भेटहरू निकै लामो हुने गरेका छन् । हामी पर्खेर हेरौँ । यसबारे हामी छिट्टै तपाइहरूलाई जानकारी गराउनेछौँ,’ पेस्कोभले पत्रकारसँगको कुराकानीमा भने ।

पेस्कोभले समाधान प्रस्तावबारे अनुमान नलगाउन आग्रह गर्दै पुटिन र अमेरिकी वार्ताकारबीचको भेटको परिणाम पर्खन आग्रह गरे । विट्कफ र कुश्नर शनिबार स्थानीय समयअनुसार दिउँसो १२ः५२ बजे मस्कोको भ्नुकोभो विमानस्थलमा अवतरण गरेका थिए ।

उनीहरूलाई विमानस्थलमा रूसका विशेष राष्ट्रपतीय दूत किरिल दिमित्रिएभले स्वागत गरे । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार विहानै रूसले किएभ र त्यसको दक्षिण–पूर्वी उपनगर बोरिस्पिलका विमानस्थलमा आक्रमण गरेको बताएपछि पेस्कोभको भनाइ आएको हो ।

जेलेन्स्कीले युक्रेनले रूसी कदमलाई ध्यानमा राखेको र अर्को साता रूसी हवाई क्षेत्रसम्बन्धी आफ्ना कारबाहीलाई पुनरावलोकन गर्ने बताए ।

जेलेन्स्कीले बिहीबार नै ट्रम्पका दूतहरूसँग युक्रेनी राजधानीमा आगामी दिनमा भेट्ने अपेक्षा गरिएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *