सर्लाही, २१ भदाै । गत निर्वाचनमा उत्कृष्ट काम गरेको भन्दै मधेस प्रदेश प्रहरी कार्यालयबाट सम्मानित प्रहरी नै मध्यराति क्यासिनोबाट पक्राउ परेपछि घटनाले थप चर्चा पाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले शनिबार राति साढे १० बजेतिर वीरगन्ज महानगरपालिका-१४, गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि (क्यासिनो) मा जुवा खेलाइरहेको अवस्थामा अन्य ७ जनासँगै जिल्लाको पोखरियास्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रदीप पौडेललाई पनि नियन्त्रणमा लिएको हो ।
प्रहरी निरीक्षक पौडेललाई गत २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित ढंगले सम्पन्न गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले सम्मान गरेको थियो ।
यसरी उत्कृष्ट भनिएको प्रहरी पक्राउ परेपछि व्यापक चर्चा भइरहेको हो ।
उनीसँगै सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवलाई पनि प्रहरीले पक्रेको छ ।
‘गाउँपालिका अध्यक्ष यादव र प्रहरी निरीक्षक पौडेलसहित पक्राउ गरिएका सबै ८ जना हाल हिरासतमा छन्’, जिल्ला प्रहरी कार्यालय पर्साका अर्का डीएसपी राजु कार्कीले भने, ‘थप अनुसन्धान गरिरहेका छौँ ।’
प्रहरी निरीक्षक पौडेलको घर स्याङ्जाको हरिनास गाउँपालिका-७ हो ।
उनीहरूसँगै क्यासिनोबाट प्रहरीले सखुवाप्रसौनी गाउँपालिका-६ का वर्ष ३० का चन्दन सहनी, वीरगन्ज-११ का ३९ वर्षीय ओमप्रकाश बैठालाई पक्राउ गरेको छ ।
पक्राउ गरिएका अन्यमा क्यासिनोका कर्मचारीहरू वीरगन्ज-१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगन्ज-२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरीको पिपरा गाउँपालिका-५ घर भई हाल उक्त क्यासिनोमा काम गर्ने वर्ष ४९ का जयदेव साह र वीरगन्ज-१२ बस्ने वर्ष ५० का प्रदेशी साह छन् ।

