सर्लाही, २३ भदाै । मलेसियामा जारी एसिसी प्रिमियर कप २०२६ मा समूह चरणको अन्तिम खेलमा नेपालले हङकङको सामना गर्दैछ। यी दुई टोलीबीचको खेल केहीबेरमा क्वालालाम्पुरस्थित बायुमास ओभलको मैदानमा सुरु हुनेछ ।
यस खेलमा नेपालसामु समूह विजेता बन्ने मौका छ। जारी प्रतियोगितामा तीन खेल खेलिसकेको नेपाल अपराजित छ। नेपाल ताजा स्थितिमा ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनविरुद्ध ७ विकेट, आयोजक मलेसियाविरुद्ध ६ विकेट तथा साउदी अरेबियाविरुद्ध ५ विकेटको जित निकालेको थियो। नेपाल आजको खेलमा पनि सहज जित दर्ता गर्ने योजनामा छ।उता हङकङले भने तीन खेल खेल्दा दुई खेलमा जित र एक खेलमा हार व्यहोरेको छ ।
हालसम्म एकदिवसीय क्रिकेटमा हङकङविरुद्ध नेपालको भेट चारपटक मात्र भएको छ । जसमा नेपालले एक र हङकङले दुई खेल जितेको विगत छ। यी दुई टोलीबीचको एउटा खेल भने वर्षाका कारण रद्द भएको छ ।
नेपाल र हङकङले पछिल्लोपटक सन् २०१८ मा एकदिवसीय क्रिकेट खेलेका थिए। उक्त खेलमा नेपालले हङकङलाई ५ विकेटले हराएको थियो । नेपाली टोली आज आठ वर्षअघिको इतिहास दोहोर्याउने सोचमा छ ।
