सर्लाही, २५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै कैलाश गाउँपालिकाका कर्मचारीलाई गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको गाउँपालिकाले आरोप लगाएको छ ।

कैलाश गाउँपालिकाले बिहीबार (आज) विज्ञप्ति जारी गर्दै सार्वजनिक सेवामा कार्यरत कर्मचारीमाथि भएको भनिएको दुर्व्यवहारप्रति गम्भीर आपत्ति जनाएको हो ।

गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालित खानेपानी तथा सरसफाइ योजना, कैलाश-५ तथा प्रदेश विशेष अनुदानअन्तर्गत सञ्चालित विभिन्न योजनाको निर्माणको जिम्मा सार्वजनिक खरिद ऐन तथा नियमावलीबमोजिम थाहा–१०, मकवानपुरस्थित सन्ध्या निर्माण सेवाले पाएको थियो ।

निर्माण सेवाले सम्झौताअनुसारको जिम्मेवारी पूरा नगरेको भन्दै गाउँपालिकाको २०८३ भदौ ४ गते बसेको कार्यपालिका बैठकले सन्ध्या निर्माण सेवालाई कालोसूचीमा राख्नेलगायत कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

गाउँपालिकाको उक्त निर्णयविरुद्ध निर्माण व्यवसायीले उच्च अदालत पाटन, हेटौँडा इजलासमा मुद्दा दायर गरेका थिए । सोही मुद्दामा भदौ २४ गते अन्तरिम आदेशसम्बन्धी छलफलका लागि अदालत पुगेका निर्माण सेवा पक्षका प्रोप्राइटर टाकाराज थापाले गाउँपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर अनिलप्रसाद जोशीलाई अदालत परिसरमै तथानाम गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको गाउँपालिकाको आरोप छ ।

घटनापछि गाउँपालिकाका कर्मचारीहरूको बैठक बसेर घटनाप्रति गहिरो खेद तथा भर्त्सना गरिएको विज्ञप्तिमा उल्लेख छ। गाउँपालिकाले सार्वजनिक सेवामा रहेर कर्तव्य निर्वाह गरिरहेका कर्मचारीमाथि गालीगलौज, धम्की र अभद्र व्यवहार हुनु दुःखद, निन्दनीय तथा गैरकानुनी कार्य भएको जनाएको छ ।

राजनीतिक दलको जिल्ला नेतृत्वमा रहेका निर्माण व्यवसायीबाटै सार्वजनिक सेवामा कार्यरत कर्मचारीमाथि यस्तो व्यवहार भएको आरोप लाग्नु गम्भीर विषय भएको गाउँपालिकाको भनाइ छ ।

यस्ता घटनाले कर्मचारीको मनोबल खस्किनुका साथै सार्वजनिक सेवा प्रवाहमा समेत प्रतिकूल असर पर्न सक्ने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले कर्मचारीलाई सुरक्षित र निर्भीकरूपमा काम गर्ने वातावरण निर्माण गर्न तथा घटनामा संलग्नमाथि प्रचलित कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग अपिल गरेको छ ।

यता यस घटनाबारे प्रतिक्रिया दिँदै थापाले आफूले कसैलाई पनि ज्यान मार्ने धम्की नदिएको दाबी गरे । अदालतबाट बाहिरिने क्रममा इन्जिनियरलाई भेटेर सामान्य गफगाफ भएकोमा राजनीतीकरण गरिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *