काठमाण्डाै, २८ भदाै । १८ औं ब्रिक्स सम्मेलन शनिबारबाट भारतको नयाँ दिल्लीमा सुरु भएको छ । आइतबारसम्म चल्ने यसपटको ब्रिक्स सम्मेलनमा विश्वमा चलिरहेका दुईवटा युद्धको बाछिटा परिरहेको विश्लेषण विभिन्न सञ्चारमाध्यमहरुले गरेका छन् ।
विगत चार वर्षदेखि चलिरहेको रुस-युक्रेन युद्ध र ६ महिनादेखि चलिरहेको अमेरिका- इरान युद्धले सिर्जना गरेको विश्वव्यापी मूल्यवृद्धि र ऊर्जा संकटबीच यस सम्मेलनमा उदयीमान अर्थतन्त्रका चुनौती र संभावनाबारे छलफल भइरहेको छ ।
ब्रिक्स सम्मेलनमा बोल्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले पश्चिम एशियामा चलिरहेको युद्ध कसैको हितमा नरहेको बताएका छन् ।
‘यस युद्धले पश्चिम एशिया क्षेत्रमा ठूलो जनधनको क्षति निम्त्याएको छ । यसले अन्तर्राष्ट्रिय समुदायको साझा हितलाई राम्रो गर्दैन,’ सीलाई उद्रृत गर्दै चिनियाँ समाचार एजेन्सी सिनुवाले लेखेको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अरुले थोपरिदिएका नियम मानेर उदयीमान राष्ट्रहरु बस्न नसक्ने बताए । ‘विश्वका चुनौतीहरु समाधान गर्न उदयीमान राष्ट्रहरुले नै नियम बनाउनुपर्छ,’ उनले भने ।
विश्वको झन्डै आधा जनसंख्या र विश्व अर्थतन्त्रको झन्डै ४० प्रतिशत हिस्सा ओगट्ने ब्रिक्स सदस्य राष्ट्रहरु पछिल्ला वर्षमा प्रभावशाली बन्दै गइरहेको उनले बताए ।
अमेरिका र उसका पश्चिमा सहयोगी देशहरुको दबदबा रहेका परम्परागत संगठनहरुले उदयीमान अर्थतन्त्रका मुद्दाहरु सम्बोधन गर्न नसकेको निष्कर्षसहित सन् २००६ मा ब्राजिल, रुस, भारत र चीनले मिलेर ब्रिक्स स्थापना गरेका थिए । त्यसको तीन वर्षपछि रुसमा पहिलो सम्मेलन आयोजना गरियो । अहिले सदस्यता संख्या बढेर ११ पूर्ण सदस्य र १० वटा राष्ट्र साझेदार छन् ।
दुई दिनसम्म चल्ने ब्रिक्स सम्मेलनमा भूराजनीति, आपसी व्यापार, ऊर्जा तथा प्रविधि (एआई) सहकार्य, जलवायु परिवर्तन, दिगो विकासलगायत विषयमा छलफल हुँदैछ ।
अमेरिकी डलरमाथि निर्भरता कम गर्ने र वैकल्पिक डिजिटल भुक्तानी माध्यमलाई बलियो बनाउने विषयमा यस सम्मेलनमा व्यापक छलफल हुने अपेक्षा गरिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा नियमबाट मुक्त भएर विश्वको आर्थिक वृद्धिका लागि यस मञ्चलाई उपयोग गर्नुपर्ने बताएका छन् ।
उनले ब्रिक्स सदस्य राष्ट्रहरुबीच राष्ट्रिय मुद्रामै कारोबार गर्ने व्यवस्था मिलाउनुपर्ने प्रस्ताव अघि लगेका छन् । ब्रिक्स सम्मेलनको पूर्वसन्ध्यामा उनले शुक्रबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा यस्तो बताएका हुन् ।
मोदीले शुक्रबारै इरानका राष्ट्रपति मसूद पेजेश्कियनलाई पनि भेटेका थिए । पेजेश्कियनले शुक्रबारै ब्रिक्स विजनेश फोरमलाई पनि सम्बोधन गरे ।
त्यसक्रममा उनले ब्रिक्स सदस्य राष्ट्रहरुबीच बलियो आर्थिक सहकार्य जरुरी रहेको बताए । त्यस्तै, अमेरिकी डलर बिना नै कारोबार गर्नुपर्ने समय आएको पनि बताए ।
यसका लागि आर्थिक सुरक्षा, वैकल्पिक भुक्तानी प्रणाली र ठूलो एकताको खाँचो रहेको उनले बताए । रुस र इरान दुबै देशमाथि पछिल्लो समय अमेरिका तथा पश्चिमा देशहरुले आर्थिक प्रतिबन्ध लगाएका छन् ।
यद्यपी, भारत र चीनजस्ता देशहरु अझै केही समय डलरमै कारोबार गर्न चाहन्छन् । तर राष्ट्रिय मुद्रालाई प्रवद्र्धन गर्ने र डिजिटल मुद्रालाई लिंक गर्ने मामिलामा भने सकारात्मक छन् ।
