सर्लाही, ०२ असोज । सर्लाहीको हरिपुर्वा नगरपालिकास्थित नगर अस्पतालमा आँखा उपचार केन्द्र स्थापना गरी आज (शुक्रबार) देखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ ।
भरतपुर आँखा अस्पतालसँगको समन्वयमा स्थापना गरिएको आँखा उपचार केन्द्रको हरिपुर्वा नगरपालिकाका नगरप्रमुख विनोदकुमार साह तेलीले उद्घाटन गरेका हुन् ।
नगरप्रमुख साहका अनुसार स्थानीयस्तरमै आँखाका बिरामीलाई उपचार सेवा उपलब्ध गराउने उद्देश्यले भरतपुर आँखा अस्पतालसँग निरन्तर समन्वय गरी आवश्यक उपकरण, औषधि तथा स्वास्थ्यकर्मीको व्यवस्था गरिएको हो ।
केन्द्र सञ्चालनमा आएसँगै सामान्य आँखाको परीक्षण तथा उपचारका लागि अन्यत्र जानुपर्ने स्थानीयवासीको बाध्यता कम हुने अपेक्षा गरिएको छ ।
हरिपुर्वा नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख लालबाबु रायका अनुसार केन्द्रमा नियमित रूपमा आँखाको परीक्षण तथा उपचार सेवा उपलब्ध हुनेछ ।
आवश्यकता अनुसार समय–समयमा मोतीबिन्दुको शल्यक्रियासमेत गर्ने व्यवस्था मिलाइने उनले जानकारी दिए ।
