सर्लाही, ०७ असोज । अध्यक्ष केपी शर्मा ओलीको आड पाएपछि एमाले नेता प्रदीप ज्ञवालीले पार्टीमा विचलन ल्याउनेलाई रोक्न माग गरेका छन् । तीन दिनदेखि जारी केन्द्रीय कमिटीको बैठकमा ज्ञवालीले पार्टीमा एकता आवश्यक भएको बेला पार्टीमा थप विचलन ल्याउन खोजिएको भन्दै रोक्न माग गरेका हुन् ।
‘पुनर्जागरणको प्रस्थानविन्दु हाम्रो पार्टीको एकता हो । पार्टी पङ्तिमा देखिएको विचलनलाई कन्ट्रोल गर्नु पर्दछ’ ज्ञवालीले बैठकमा भने । अप्ठ्यारो बेलामा पार्टी नेतृत्वको विरुद्धमा लाग्नेलाई कारबाहीसम्मको संकेत गरी ज्ञवालीले बोलेको नेताहरू बताउँछन् ।
यद्यपि, उनले २१ फागुनमा निर्वाचनमा एमालेले धक्का खाएको भन्दै त्यसलाई पार्टीले चुनौतीको रूपमा लिनुपर्ने बताएका छन् ।
‘२१ फागुनको निर्वाचनमा एमालेले असामान्य धक्का खान पुग्यो,’ ज्ञवालीले बैठकमा भने, ‘यो धक्काको सामना कुनै एक नेता विशेषले होइन, सामूहिक चुनौतीको रूपमा लिनुपर्दछ ।’
गत महाधिवेशनमा ओलीले पदाधिकारीबाट वञ्चित गरे पनि केही दिन पुनर्गठन कार्यदलको प्रतिवेदनमा विवाद हुँदा ओलीले ज्ञवालीलाई विश्वास गरेका थिए । उनैले अध्यक्ष ओली अनुकूलको प्रतिवेदन तयार गरेका थिए ।
