सर्लाही, ०७ असोज । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाका परिवारले न्याय पाउनुपर्ने माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै खत्रीले रास्वपा सभापति रवि लामिछानेले संसदको पहिलो बैठकमा ‘न्याय पाउने पहिलो हक शहीदकी आमाको हो’ भनेको स्मरण गर्दै त्यसको कार्यान्वयनबारे प्रश्न उठाए ।

‘गत चैत १९ गते बसेको पहिलो संसद बैठकलाई सम्बोधन गर्दै हाम्रा सभापति रवि लामिछानेले भन्नुभएको थियो, न्याय पाउने पहिलो हक शहीदकी आमाको हो । तर ५८औँ बैठकमा आइपुग्दा आफ्नो अपमान गरियो भन्दै शहीहदकी आमा रुने अवस्था बन्यो,’ उनले भने ।

खत्रीले जेन–जी आन्दोलनमा ज्यान गुमाएका युवाको अवस्थालाई स्मरण गर्दै उनीहरू भ्रष्टाचारविरुद्धको आवाज बोकेर सडकमा आएको दाबी गरे । आन्दोलनमा ज्यान गुमाएका युवाका परिवारले अझै न्यायको अनुभूति गर्न नसकेको अवस्था रहेको उनले बताए ।

‘छोराको झोलामा कापी र किताब थियो, मुखमा भ्रष्टाचारविरोधी नारा थियो, छाती र टाउकोमा गोली हानियो, खुङ्खार आतङ्कवादीसरह मारियो,’ खत्रीले भने, ‘आमाको आँसु बलिन्द्र धाराझैँ बगिरह्यो ।’

उनले शहीदको रगत र आमाको आँसुको हिसाबकिताब हुने भनिए पनि अहिले शहीद परिवारले नै संसद्मा आफ्नो पीडा सुनाउनुपर्ने अवस्था आएको बताए ।

खत्रीले जेन–जी आन्दोलनलाई ‘सचेत युवाहरूको विद्रोह’ का रूपमा संसदले स्वीकार गर्ने कि नगर्ने भन्ने प्रश्नसमेत उठाए ।

‘जेन–जी आन्दोलन सचेत युवाहरूको विद्रोह हो या होइन ? हो भने यही सदनबाट सङ्कल्प प्रस्ताव ल्याएर पास गरौँ,’ उनले भने, ‘दोषीलाई कठघरामा उभ्याएर जेनजीलाई न्याय दिने सङ्कल्प गरौँ ।’

उनले संसदले यस विषयमा स्पष्ट निर्णय लिनुपर्नेमा जोड दिँदै अन्यथा शहीदका परिवारको पीडा र आमाको आँसुले राजनीतिक नेतृत्वलाई प्रश्न गरिरहने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *