सर्लाही, २१ असोज । नेपाली कांग्रेसको उपसभापति पदकी उम्मेदवार सीता गुरुङले महिलाले सधैँ आफ्नो कोटा प्रयोग गर्न नहुने बताएकी छन् । उनले कोटामा एकपटक लडेपछि त्यसबाट बाहिर निस्कन सक्नुपर्ने बताइन् ।
बुधबार बिहान भृकुटीमण्डपमा गुरुङले महिलाले खुला प्रतिस्पर्धा गरेर पदमा पुग्न सक्नुपर्ने बताइन् । उनले भनिन्, ‘मैले एकपटक महिला कोटाको उपयोग गरिसकेँ । अब त्योभन्दा बाहिर आएर प्रतिस्पर्धा गर्नुपर्छ भनेर उम्मेदवारी दर्ता गरेकी छु ।’
गुरुङले समावेशीतर्फको उपसभापतिमा उम्मेदवारी दिएकी छन् । उनीसँग उद्योगपति विनोद चौधरी कांग्रेसका निवर्तमान सह–महामन्त्रीद्वय जीवन परियार र फर्मुला मनसुर तथा नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्ण प्रतिस्पर्धामा छन् । महिला कोटातर्फको उपसभापति पद रहे पनि त्योभन्दा बाहिर निस्किएर आफूले समावेशीतर्फको उपसभापतिमा प्रतिस्पर्धा गरेको गुरुङको भनाइ छ ।
१४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी गुरुङ २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ चुनाव जित्ने एक मात्र महिला थिइन् ।
