लुम्बिनीबाट कांग्रेस केन्द्रीय पदाधिकारीमा नौ उम्मेदवार मैदानमा

Byसदाम हुसैन

२०८३ आश्विन २१, बुधवार २०८३ आश्विन २१, बुधवार २०८३ आश्विन २१, बुधवार

सर्लाही, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशबाट केन्द्रीय पदाधिकारीका विभिन्न पदमा नौ जनाले उम्मेदवारी दर्ता गरेका छन् । सभापतिदेखि सहमहामन्त्रीसम्मका पदमा लुम्बिनीबाट नेताहरूले उम्मेदवारी दर्ता गरेका हुन् ।

लुम्बिनीबाट सभापतिमा बर्दियाका किशोरसिंह राठौर, उपसभापतिमा दाङका दीपक गिरी, गुल्मीका डा. चन्द्र भण्डारी, अर्घाखाँचीकी पुष्पा भुसाल र नवलपरासीका विनोद चौधरीले उम्मेदवारी दर्ता गरेका हुन् । यस्तै, महामन्त्रीमा रोल्पाका अमरसिंह पुन तथा सहमहामन्त्रीमा कपिलवस्तुका अभिषेकप्रताप शाह, दाङका योगेन्द्र चौधरी र नवलपरासीका देवेन्द्रराज कंडेलले उम्मेदवारी मनोनयन दर्ता गराइसकेका छन् ।

सभापतिमा राठौर
बर्दियाका कांग्रेस पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनले काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरी सभापतिमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् ।

बर्दिया क्षेत्र नम्बर २ मा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया लम्बिँदा उनको उम्मेदवारीसमेत अन्योलमा परेको थियो । हिजो मात्र उनको प्रतिनिधि चयन प्रक्रिया टुंगो लागेको हो । राठौरले आफूलाई सभापतिमा उम्मेदवारी दिनबाट रोक्नकै लागि आफ्नो क्षेत्रमा अधिवेशन प्रक्रिया लम्ब्याइएको आरोप लगाउँदै आएका छन् । लामो समय देउवा निकट उनी कांग्रेसको परिचय रूख र चार तारा भएकोले संस्थापनमै लागेको जनाएका छन् ।

उपसभापतिमा चार दाबेदार सबै प्रभावशाली, पुष्पा भुसाल महिला उपसभापतिमा निर्विरोध
लुम्बिनीबाट कांग्रेस उपसभापतिका लागि चार जनाले उमेदवारी दर्ता गरेका छन् । गुल्मीका डा. चन्द्र भण्डारी, अर्घाखाँचीकी पुष्पा भुसाल, नवलपरासीका उद्योगपति विनोद चौधरी र दाङका पूर्वमन्त्री दीपक गिरीले उपसभापतिमा उम्मेदवारी दर्ता गरेका हुन् ।

पूर्वमन्त्री गिरीले कांग्रेसलाई गुटभन्दा माथि उठाएर एकताबद्ध बनाउँदै संगठन सुदृढीकरण गर्ने उद्देश्यसहित उपसभापतिमा उमेदवारी दिन लागेको बताएका छन् । उनको सचिवालयका अनुसार उनले मनोनयनपत्र दर्ता गरेको जनाएका छन् ।

गुल्मीका डा. चन्द्र भण्डारीले पनि उपसभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । उनले ‘समृद्ध मुलुक, खुसी नेपाली’ भन्ने लक्ष्यसहित समयानुकूल विचार र कार्यक्रम बोकेको पार्टी निर्माणका लागि आफूले उपसभापतिमा प्रतिस्पर्धा गर्न लागेको बताएका छन् । बदलिँदो समयअनुसार कांग्रेसलाई अघि बढाउन आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ ।

अर्घाखाँचीकी पुष्पा भुसालले महिला उपसभापतितर्फ उम्मेदवारी दिएकी हुन् । उनी कांग्रेसको विशेष महाधिवेशनबाट उपसभापति बनेकी थिइन् । पूर्व उपसभामुख रहेकी उनी पहिले देउवा समूहमा रहेर विशेष महाधिवेशनमा गगन समूहमा लागेकी हुन् । उनी महिला उपसभापतिमा निर्विरोध भइसकेकी छन् ।

यस्तै, नवलपरासीका उद्योगपति विनोद चौधरीले समावेशी उपसभापतितर्फ उम्मेदवारी दर्ता गराएका छन् । चौधरी कांग्रेसमा नवलपरासीबाट प्रतिनिधित्व गर्छन् ।

महामन्त्रीमा अमरसिंह पुन
लुम्बिनी प्रदेश कांग्रेसका सभापति अमरसिंह पुनले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । रोल्पाबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका पुनले पार्टीको केन्द्रीय नेतृत्वमा जाने उद्देश्यसहित महामन्त्रीमा प्रतिस्पर्धा गर्न लागेको बताएका छन् ।

सहमहामन्त्रीमा योगेन्द्र, अभिषेकप्रताप र देवेन्द्रराज
लुम्बिनीबाट योगेन्द्र चौधरी, अभिषेकप्रताप शाह र देवेन्द्रराज कँडेलले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
चौधरी यसअघि पनि सहमहामन्त्रीको जिम्मेवारीमा थिए । उनले पुनः सोही पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । कपिलवस्तुका अभिषेकप्रताप शाहले पनि सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । शाह प्रतिनिधिसभा सदस्यसमेत हुन् ।

यसअघि केन्द्रीय सदस्य रहेका देवेन्द्रराज कंडेल सहकारी विभाग, अनुशासन समिति सदस्य बनेका थिए ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार केन्द्रीय पदाधिकारी तथा सदस्यका लागि मनोनयनपत्र दर्ता भएको हो । महाधिवेशनमा लुम्बिनी प्रदेशबाट एक हजार नौ जना महाधिवेशन प्रतिनिधि मतदाताका रूपमा सहभागी छन् । केन्द्रीय सदस्यमा भने दर्जनौँले दर्ता गरेका छन् । पदाधिकारीमा मनोनयनको संख्या बढाएपछि अहिले उम्मेदवारी दिएर सुरक्षित बनाउन पनि मनोनयनको संख्या बढेको कांग्रेस नेताहरूको बुझाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *