सर्लाही, २२ असाेज । सर्लाहीको कविलासी नगरपालिकामा अन्तर्गत शिक्षक अभाव, नियमित पठनपाठनको व्यवस्था तथा विद्यालयको शैक्षिक व्यवस्थापन सुधारको माग गर्दै हिजाे मदनपुर-जमुनिया-बिनगरा माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलनमा उत्रिएका थियाे ।
विद्यालयमा लामो समयदेखि आवश्यक संख्यामा शिक्षक नभएको र त्यसका कारण पठनपाठन प्रभावित हुँदै आएको भन्दै विद्यार्थीहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका थिए ।
माग सम्बोधन नभएको भन्दै उनीहरूले बुधबार आन्दोलन गर्दै केही समय नवलपुर-मलङवा सडकसमेत अवरुद्ध गरेका थिए ।
विद्यार्थीहरूले विद्यालयमा आवश्यक शिक्षकको तत्काल व्यवस्था गर्नुपर्ने, नियमित पठनपाठन सञ्चालन गर्नुपर्ने, विगत सात महिनादेखि रोकिएको दिवा खाजा पुनः सञ्चालन गर्नुपर्ने तथा विद्यालयको शैक्षिक व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने माग अघि सारेका छन् ।
त्यस्तै, विद्यालयको समग्र सुधार, पारदर्शी व्यवस्थापन र गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्न स्थानीय सरकारसँग विद्यार्थीहरूले आग्रह गरेका छन् ।
यसअघि पनि नगरपालिकाको शैक्षिक सुधारका लागि पटक–पटक आवाज उठाउँदै आएका स्थानीय युवा सुबास यादव र राजु यादव समेत विद्यार्थीको आन्दोलनमा सहभागी भएका छन् ।
स्थानीय युवा राजु यादवका अनुसार विद्यालयको समस्याबारे पटक–पटक नगरपालिकालाई ध्यानाकर्षण गराउँदा पनि आवश्यक चासो नदेखाइएपछि विद्यार्थीलाई पैदल हिँडाएर नगरपालिका कार्यालयसम्म ल्याइएको हो ।
उनले भने, “हामीले यस विषयमा पटक–पटक नगरपालिकालाई ध्यानाकर्षण गराउँदै आएका छौँ । तर, कुनै चासो नदेखाएपछि विद्यार्थीलाई पैदल विद्यालयबाट नगरपालिका कार्यालयसम्म ल्याएका हौँ ।
हाम्रो मुख्य माग विद्यालयमा आवश्यक शिक्षकको व्यवस्था, नियमित पठनपाठन, विगत सात महिनादेखि रोकिएको दिवा खाजा सञ्चालन र शैक्षिक व्यवस्थापन प्रभावकारी बनाउनु हो ।”
यस्तै, स्थानीय युवा सुबोधका अनुसार विद्यालयमा रहेका कम्प्युटरलगायतका शैक्षिक सामग्री लामो समयदेखि प्रयोगविहीन अवस्थामा छन् । उपलब्ध स्रोतसाधनको उचित प्रयोग हुन नसक्दा विद्यार्थीले त्यसको प्रत्यक्ष लाभ लिन नसकेको उनको आरोप छ ।
विद्यार्थीको आन्दोलनपछि विद्यालयको शैक्षिक अवस्था, शिक्षक अभाव, दिवा खाजा तथा उपलब्ध शैक्षिक सामग्रीको प्रयोगबारे स्थानीय तहले आवश्यक छलफल गरी समस्या समाधानका लागि पहल गर्नुपर्ने माग उठेको छ ।
