सर्लाहीमा किराना पसलबाट १० लाख चोरि गर्ने दुई जना पक्राउ

Byसदाम हुसैन

२०८३ आश्विन २२, बिहीवार २०८३ आश्विन २२, बिहीवार २०८३ आश्विन २२, बिहीवार

सर्लाही, २२ असाेज । सर्लाहीकाे लालबन्दीमा किराना पसलको भेन्टिलेसन फुटाएर नगद तथा चुरोट चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार लालबन्दी नगरपालिका–७ स्थित लालबन्दी बजारबाट मिर्चैया जाने बाटोमा रहेको कैलाश सप्लायर्स किराना पसलमा चोरी भएको हो ।

पसल सञ्चालक उमाशंकर साहका अनुसार अज्ञात व्यक्तिहरूले पसलको पछाडिको भेन्टिलेसनको रड बङ्ग्याएर भित्र प्रवेश गरी क्यास काउन्टरमा रहेको १० लाख रुपैयाँ नगद र करिब ३ हजार ६ सय रुपैयाँ पर्ने तीन बण्डल चुरोट चोरी गरेका थिए ।

चोरीपछि फरार भएका व्यक्तिको खोजी गर्ने क्रममा प्रहरीले पसलमा जडान गरिएको सीसीटीभी फुटेजलगायत विभिन्न प्राविधिक माध्यमबाट अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले लालबन्दी नगरपालिका–१४ का ३७ वर्षीय हिरालाल ब्लोनलाई पक्राउ गरेको जनाएको छ । काठमाडौं महानगरपालिका–२३ स्थित स्थानबाट पक्राउ परेका ब्लोनको साथबाट ५० हजार रुपैयाँ नगद, विभिन्न किसिमका घरेलु हातहतियार तथा घटनामा प्रयोग गरिएको टी–सर्ट बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ब्लोनसँग सोधपुछ गर्दा चोरीमा सर्लाहीकै लालबन्दी नगरपालिका–१४ लखनदेही टोलका ४४ वर्षीय चन्द्र वाइबा समेत संलग्न रहेको खुलेको थियो । वाइबालाई खोजतलास गर्ने क्रममा असोज २० गते लालबन्दी नगरपालिका–११ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *