सर्लाही, २६ असाेज । धनुषा प्रहरीले सामाजिक सञ्जाल टिकटक तथा फेसबुकमा हातहतियार देखाएको र धम्की दिएको आरोपमा दुई जना युवकलाई पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल टिकटकमा डरत्रास, धाकधम्की र समाज हिंसा फैलाउने जस्तो भिडियो अपलोड गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका १९ बस्ने २१ वर्षीय काले भन्ने पशुपति पासवानलाई पक्राउ गरेको हो ।
यस्तै, फेसबुकमा धारिलो हतियार खुकुरी देखाई डरत्रास फैलाउने आपत्तिजनक फोटो अपलोड गरेको आरोपमा जनकपुरधाम १३, बस्ने अन्दाजी १८ वर्षीय सुमन पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार पासवानलाई सोमबार बिहान करिब साढे ८ बजेको समयमा घरबाटै पक्राउ गरिएको छ ।
पटेललाई आइतबार साँझ करिब साढे ५ बजेको समयमा घरबाट नियन्त्रणमा लिइएको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको हो ।
