विपद् उत्थानशीलताको सुरुवात घरबाटै गर्नुपर्छ : डा. उप्रेती

Byसदाम हुसैन

२०८३ आश्विन २७, मंगलवार २०८३ आश्विन २७, मंगलवार २०८३ आश्विन २७, मंगलवार

सर्लाही, २७ असाेज । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले विपद् जोखिम न्यूनीकरणका लागि घरपरिवारदेखि नै पूर्वतयारी र उत्थानशीलताको अभ्यास सुरु गर्नुपर्ने बताएका छन् ।

विपद् व्यवस्थापनलाई उद्धार र राहतमा मात्र सीमित नगरी जोखिम पहिचान, पूर्वसूचना, पूर्वतयारी र समुदायको क्षमता विकासमा केन्द्रित गर्नुपर्ने उनको भनाइ छ ।

‘विपद् जोखिम न्यूनीकरणका लागि घरपरिवारबाटै उत्थानशीलताको अभियान सुरु गर्नुपर्छ,’ अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसका अवसरमा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले भनेका छन्, ‘विपद् प्राधिकरण, गाउँपालिका, नगरपालिका, प्रदेश वा कुनै मन्त्रालयको मात्र जिम्मेवारी हो भनेर बुझ्यौँ भने बढ्दो जोखिमलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सकिँदैन ।’

उनका अनुसार जलवायु परिवर्तनका कारण तापक्रम र वर्षाको स्वरूपमा आएको परिवर्तनले नेपालमा विपद्को जोखिम थप जटिल बनाउँदै लगेको छ ।

कहिले अत्यधिक वर्षा हुने, कहिले लामो समयसम्म पानी नपर्ने तथा तापक्रम बढ्दै जाँदा खडेरी, लू र अत्यधिक गर्मीको जोखिम बढिरहेको छ ।

हिमाली क्षेत्रमा तापक्रम वृद्धिका कारण हिमपहिरो, चट्टान खस्ने, हिमताल विस्फोट तथा नदीमा अस्थायी ताल बन्नेजस्ता घटनाले तल्लो तटीय क्षेत्रमा समेत ठूलो क्षति पुर्‍याइरहेको छ ।

उनले विपद्को प्रकृति र जोखिममा आएको परिवर्तनअनुसार पूर्वतयारीका योजना बनाउनुपर्नेमा जोड दिए । मनसुनमा हुने बाढीपहिरो मात्र नभई खडेरी, डढेलो, शीतलहर र अत्यधिक गर्मीका लागि समेत छुट्टाछुट्टै तयारी आवश्यक रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *