सर्लाही, ३० असोज । गृहमन्त्री सुधन गुरुङले नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई प्राथमिकता दिँदै जनतालाई केन्द्रमा राखेर काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।
शुक्रबार ७१औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शून्य सहनशीलताको नीति अपनाउनुपर्ने बताए ।
‘प्रहरी कर्मचारीहरूले नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई आत्मसात गर्दै भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शून्य सहनशीलता अपनाउनुपर्छ,’ गुरुङले भने ।
उनले साइबर अपराध, वित्तीय अपराध र आधुनिक अनुसन्धान प्रविधिमा प्रहरीको क्षमता बढाउनुपर्ने बताए । नागरिकको विश्वास जित्न प्रहरीको काम गर्ने शैली र व्यवहारमा जवाफदेहिता आवश्यक रहेको उनको भनाइ थियो ।
‘प्रहरीको बर्दी डरको होइन, आशा, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ,’ उनले भने, ‘सही कार्य गर्ने प्रहरीको साथमा सरकार सधैँ रहनेछ, तर गलत कार्यको संरक्षण गरिनेछैन ।’
