सर्लाही, ०५ कार्तिक । एक दशकभन्दा बढी समयदेखि इन्टरनेटको ठूलो हिस्सा धानेको प्रविधिमा रहेको गम्भीर त्रुटि पत्ता लाग्न सकेको थिएन ।
आर्टिफिसियल इन्टेलिजेन्सको मद्दतले यसलाई बाहिर ल्याएपछि विश्वव्यापी रूपमा साइबर सुरक्षा सतर्कता अपनाइएको छ ।
यो जोखिम ‘पीएचपी’ नामक प्रोग्रामिङ भाषामा रहेको छ, जुन सन् २००० को दशकदेखि अन्तर्राष्ट्रिय स्तरमा वेबसाइट बनाउन प्रयोग हुँदै आएको छ ।
विश्वभरका सरकार र साइबर सुरक्षा निकायहरू बुधबार यो तथ्य बाहिरिएपछिको सम्भावित असरलाई नियन्त्रण गर्न जुटेका छन् ।
उनीहरूले वेबसाइट सञ्चालकहरूलाई नयाँ आपतकालीन ‘फिक्स’ (अपडेट) इन्स्टल गर्न वा आफ्ना प्लेटफर्महरू अफलाइन राख्न आग्रह गरेका छन् ।
साइबर सुरक्षा कम्पनी विजका अनुसन्धानकर्ताहरूले यो जोखिम पत्ता लगाएका थिए । उनीहरूले यसलाई एआईद्वारा पत्ता लगाइएको हालसम्मकै सबैभन्दा गम्भीर त्रुटि भनेको छ ।
जोखिम पत्ता लगाउन प्रविधि प्रयोग गरिएको कम्पनी ओपनएआईले यसलाई पछिल्लो समयको सबैभन्दा प्रभावकारी सुरक्षा समस्या भनेको छ ।
त्रुटि के हो ?
धेरैले पीएचपी (हाइपरटेक्ट्स प्रिप्रोसेसर) को नाम नसुनेका हुन सक्छन्, तर उनीहरूले पक्कै पनि दैनिक रूपमा यसको प्रयोग गरिरहेका हुन्छन् । अनलाइन शप, विकिपिडिया र वर्डप्रेस लगायतका ठूलो सङ्ख्याका प्लेटफर्महरू पीएचपीबाटै चल्छन् ।
बीबीसीसँग कुरा गर्दै गोरिल्ला साइबर सेक्युरिटीका प्रमुख कार्यकारी पल स्पेनले भने, ‘जब तपाईं विकिपिडिया जस्तो वेबसाइट भिजिट गर्नुहुन्छ, पीएचपी नै त्यो कोड हो जसले तपाईंलाई आवश्यक जानकारी सङ्कलन गर्छ र तपाईंले पढ्न सक्ने गरी वेबमा प्रस्तुत गर्छ ।’
तर, यसमा रहेको त्रुटिका कारण आक्रमणकारीहरूले अथेन्टिकेसन विनै प्रभावित वेब सर्भरहरूलाई नियन्त्रणमा लिन र संवेदनशील डाटाहरू चोर्न सक्छन्, जसले गर्दा पीएचपीमा बनेका सबै कुरा जोखिममा परेका छन् ।
एआईले यस्ता आक्रमणहरूलाई अझ सजिलो र छिटो बनाउन सक्ने बताउँदै स्पेनले यो त्रुटिले लाखौँ-लाख वेबसाइटहरूलाई असर गर्न सक्ने अनुमान गरे ।
युनिभर्सिटी अफ एडिलेडकी साइबर सुरक्षा अनुसन्धानकर्ता जिल स्लेले यदि ह्याकर वा कुनै देशले यो त्रुटिलाई हतियारको रूपमा प्रयोग गरेर वेबसाइटबाट निजी डाटा कब्जा गरेमा त्यो विनाशकारी हुने बताइन् ।
कुन-कुन वेबसाइट प्रभावित भए ?

यो चेतावनीले गेमिङ प्लेटफर्मदेखि सरकारी पोर्टल र अनलाइन फोरमहरूसम्म विश्वभरका सेवाहरूलाई अवरुद्ध गरेको छ । यसमा अनलाइन विश्वकोश विकिपिडिया सञ्चालन गर्ने संस्था ‘विकिमिडिया’ पनि समावेश छ, जसले सावधानी अपनाउँदै आफ्ना केही सिस्टमहरू बन्द गरेको छ ।
फिनल्यान्डको सरकार, एडिनबर्ग काउन्सिल र बीबीसीले आफ्ना साइट र पेजहरू अफलाइन गरेका छन् भने नेदरल्यान्ड्सको साइबर सुरक्षा निकायले पनि आफ्नो वेबसाइट बन्द गरेको छ ।
जेनेभा विश्वविद्यालयको वेबसाइट पनि बुधबार अफलाइन गरिएको थियो। स्कटल्यान्डका काउन्सिल र स्वास्थ्य बोर्डलगायत कैयौँ सार्वजनिक संस्थाहरूले पनि आफ्ना वेबसाइट अफलाइन गरेका छन् ।
नेपालमा पनि सरकारी वेबसाइटहरु बन्द छन् ।
केही विशेषज्ञहरूले कम सुरक्षा स्रोतसाधन भएका साना संस्थाहरूका राम्रोसँग मर्मतसम्भार नगरिएका वेबसाइटहरू यसबाट अझ बढी जोखिममा पर्न सक्ने चेतावनी दिएका छन् ।
युएनएसडब्ल्यु सिड्नीका साइबर सुरक्षा अनुसन्धानकर्ता सलिल कन्हेरेले यसको प्राविधिक विवरण सार्वजनिक भइसकेकाले आगामी हप्ताहरूमा यी त्रुटिहरूको फाइदा उठाउने प्रयास अझ बढ्न सक्ने बताएका छन् ।
