सर्लाही, ०७ कार्तिक । सर्लाहीको मलंगवा नगरपालिका-७, मुसैलीस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको बौधीमाई ताल (मुसैली पोखरी) को सरसफाइ तथा सौन्दर्यीकरण कार्यमा ढिलाइ भएपछि स्थानीय युवाहरूले विरोध जनाएका छन् ।

पोखरीको सरसफाइ अभियान १३औँ दिनसम्म निरन्तर सञ्चालन भएपछि त्यहाँबाट सङ्कलन गरिएको जलकुम्भी (कुम्ही) भौतिक पूर्वाधार विकास कार्यालयकाे गेट अगाडि राखेर युवाहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।

सर्लाही क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति सुजित यादव, हिन्दू सम्राट सेनाका प्रतिनिधिहरू तथा सामाजिक अभियन्ता वीरेन्द्र अधिकारीलगायतको टोलीले जलकुम्भी कार्यालयअगाडि राख्दै पोखरीको संरक्षण, सरसफाइ तथा सौन्दर्यीकरण कार्य शीघ्र अघि बढाउन माग गरेको हो ।

ठेक्का कार्य समयमै सम्पन्न हुन नसकेको र ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको सार्वजनिक पोखरीको संरक्षणमा सम्बन्धित सरकारी निकायले अपेक्षित ध्यान नदिएको भन्दै युवाहरूले सांकेतिक रूपमा विरोध जनाएका हुन् ।

पोखरीको सरसफाइ तथा सौन्दर्यीकरण कार्यमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै उनीहरूले सम्बन्धित निकायलाई जिम्मेवार भएर काम गर्न आग्रह गरेका छन् । साथै, पोखरीको संरक्षण तथा सौन्दर्यीकरण कार्यलाई थप ढिलाइ नगरी तत्काल अघि बढाउन र निर्माण कार्य समयमै सम्पन्न गर्न माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *