मलंगवाका स्वास्थ्य कार्यालय प्रमुखविहीन, २० कर्मचारीले पाएनन् तलब

Byसदाम हुसैन

२०८३ कार्तिक ९, सोमवार २०८३ कार्तिक ९, सोमवार २०८३ कार्तिक ९, सोमवार

सर्लाही, ०९ कार्तिक । स्वास्थ्य कार्यालय मलंगवा प्रमुखविहीन हुँदा २० जना कर्मचारीले साउनदेखि तलब नपाएको गुनासो गरेका छन् । कार्यालय प्रमुख नहुँदा तलब निकासीलगायतका प्रशासनिक काम प्रभावित भएको कर्मचारीहरूको भनाइ छ ।

गत असोज १९ गते कार्यालय प्रमुख रहेका नवलकिशोर झा ११औँ तहमा बढुवा भएर मधेश प्रदेश स्वास्थ्य निर्देशनालयमा गएपछि स्वास्थ्य कार्यालय मलंगवा प्रमुखविहीन बनेको हो । त्यसयता प्रदेश सरकारले कार्यालयको नेतृत्व सम्हाल्ने गरी कसैलाई पनि प्रमुख तोकेको छैन ।

कार्यालयमा दरबन्दीका १४ र करारका ६ गरी २० जना कर्मचारी कार्यरत छन् । प्रमुख नहुँदा उनीहरूले साउनदेखि नै तलब नपाएको गुनासो गरेका छन् ।

तलब नपाएको र अन्य काम प्रभावित भएको समस्याबारे मधेश प्रदेश सरकारलाई समेत जानकारी गराउँदा सुनुवाइ नभएको कर्मचारीहरूले बताएका छन् ।

कर्मचारीहरूका अनुसार कुनै पनि कार्यालय लामो समयसम्म प्रमुखविहीन राख्न नहुने व्यवस्था भए पनि त्यसको बेवास्ता गरिएको छ ।

कार्यालय प्रमुखको जिम्मेवारी रिक्त भएको १५ दिनभन्दा बढी समयसम्म पनि पदपूर्ति नहुँदा कर्मचारीले सास्ती भोग्नुपरेको उनीहरूको भनाइ छ ।

कार्यालयको दैनिक प्रशासनिक काम र कर्मचारीको तलब भुक्तानी सहज बनाउन तत्काल नेतृत्वको व्यवस्था गर्नुपर्ने माग कर्मचारीहरूले गरेका छन् ।

उनीहरूले कार्यालयभित्रै कार्यरत वरिष्ठ कर्मचारीलाई प्रमुखको जिम्मेवारी दिनुपर्ने वा प्रदेश सरकारले नयाँ प्रमुख पठाउनुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *