सर्लाही, ०९ कार्तिक । नेपालले प्राप्त गर्दै आएको वैदेशिक सहायता प्रतिबद्धता साढे तीन गुणाले घटेको छ । अर्थ मन्त्रालयको विवरणअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउन महिनामा प्राप्त भएको वैदेशिक सहायता प्रतिबद्धता दुई अर्ब २० करोड ३८ लाख रुपैयाँ रहेको छ ।
गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा यस्तो प्रतिबद्धता आठ अर्ब ६ करोड रुपैयाँ रहेको थियो । यस अवधिमा प्राप्त कुल सहायता प्रतिबद्धता शतप्रतिशत अनुदान रहेको थियो ।
चालु आर्थिक वर्षको साउन महिनामा प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामध्ये कृषि क्षेत्रमा सबैभन्दा बढी ७० प्रतिशत, शिक्षा क्षेत्रमा १७.४ प्रतिशत र अन्य क्षेत्रमा १२.७ प्रतिशत रहेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा ऊर्जा क्षेत्रमा सबैभन्दा बढी ८४.४ प्रतिशत प्रतिबद्धता प्राप्त भएको थियो ।
चालु आर्थिक वर्षको साउन महिनामा नेपाल सरकारले वैदेशिक अनुदान २४ करोड तीन लाख रुपैयाँ प्राप्त गरेको थियो । त्यस्तै, वैदेशिक ऋण तीन अर्ब २९ करोड ८० लाख रुपैयाँ गरी कुल तीन अर्ब ५३ करोड ८३ लाख रुपैयाँ वैदेशिक सहायता (नगद) प्राप्त गरेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा वैदेशिक अनुदान ४२ करोड १९ लाख रुपैयाँ र वैदेशिक ऋण चार अर्ब ५७ करोड ४८ लाख रुपैयाँ प्राप्त भएको थियो ।
चालु आर्थिक वर्षका लागि वैदेशिक अनुदान ६१ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ र वैदेशिक ऋण दुई खर्ब ४८ अर्ब २८ करोड रुपैयाँ परिचालन गर्ने लक्ष्य रहेको छ ।
