सभापति थापाले गराए कांग्रेसका पदाधिकारी र सदस्यलाई शपथ

Byसदाम हुसैन

२०८३ कार्तिक १२, बिहीवार २०८३ कार्तिक १२, बिहीवार २०८३ कार्तिक १२, बिहीवार

सर्लाही, १२ कार्तिक । नेपाली कांग्रेसका सभापति गगन थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराएका छन् । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बिहीबार आयोजित समारोहमा थापाले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

यससँगै कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले बिहीबारदेखि औपचारिक रूपमा पार्टी सञ्चालनको जिम्मेवारी सम्हालेका छन् । 

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालका अनुसार यसपटकको शपथ ग्रहण कार्यक्रम विगतभन्दा फरक ढाँचामा सम्पन्न गरिएको हो । नवनिर्वाचित नेताहरूलाई प्रमाणपत्र वितरणसँगै पदबहालीसमेत गराउने व्यवस्था गरिएको उनले जानकारी दिएका छन् ।

सभापति थापाले यसअघि नै असोज ३१ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका थिए । त्यसैले बिहीबार सभापतिबाहेक अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ लिएका हुन् ।

गत असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम नतिजा असोज ३० गते सार्वजनिक गरिएको थियो । महाधिवेशनमा सभापतिमा थापा ९४ प्रतिशत मतसहित निर्वाचित भएका थिए ।

महाधिवेशनबाट वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल तथा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका थिए । महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डिला संग्रौला निर्वाचित भएका थिए ।

निर्वाचन समितिका अनुसार यसपटक सात हजार ३९२ मतदाताको मतगणना एक सातामा सम्पन्न भएको थियो । कुल २२९ पदका लागि भएको निर्वाचनमा झण्डै एक लाख ६२ हजार मतपत्र गणना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *