सर्लाही, १२ कार्तिक । स्थानीय तह निर्वाचन कहिले होला ? दल र आकांक्षीहरू जुर्मुराइसकेका छन् । दलहरू अभियानसहित गाउँ–ठाउँमा सक्रिय हुन खोज्दै छन् ।
तर, सरकारले मिति घोषणा गरेको छैन । स्थानीय तह निर्वाचन २०७३ को दफा ३ (१) मा गाउँसभा वा नगरसभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअगाडि निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।
जहाँ भनिएको छ, “निर्वाचन गाउँ सभा वा नगरसभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगाडि हुनेछ ।”
उक्त व्यवस्थाअनुसार आउँदो फागुनमा स्थानीय तहको निर्वाचन गनुपर्नेछ । २०७९ को स्थानीय निर्वाचन वैशाख ३० गते भएको थियो ।
तिनको पदावधि २०८४ वैशाख ३० गते समाप्त हुन्छ । त्यस हिसाबले हिसाबले फागुनको अन्तमा स्थानीय तहको निर्वाचन गर्नुपर्नेछ । तर, संविधान भने बाझिन्छ ।
संविधानको धारा २२५ मा भने गाउँ सभा वा नगरसभा सकिएको ६ महिनापछि अर्को निर्वाचन सम्पन्न गरिसक्नुपर्ने उल्लेख छ ।
निर्वाचनको मिति तोक्नुअघि सरकारले निर्वाचन आयोगसँग परामर्श गर्नुपर्छ । निर्वाचनबारे वालेन्द्र शाह नेतृत्वको सरकारले आयोगसँग परामर्श गरेको छैन ।
“कानुनतः स्थानीय तहको निर्वाचन आउँदो फागुनमा हुनुपर्छ । निर्वाचनबारे सरकारसँग छलफल गर्न बाँकी छ,” आयुक्त गुरुप्रसाद वाग्लेले भने ।
सक्रिय हुन थाले दल
उता, राजनीतिक दलहलहरू स्थानीय चुनावका निम्ति सक्रिय हुन थालेका छन् । दलहरूले स्थानीय चुनावमा नतिजा आफ्नो पक्षमा पार्न योजना बुन्न थालेका हुन् । दलहरू फरक–फरक अभियानसहित जनताको घरदैलोमा पुग्ने क्रम सुरु भएको छ ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ‘हामी आउँदैछौं’ जिल्ला–जिल्ला पुग्यो । अरु दलहरू पनि स्थानीय निर्वाचन निम्ति जुर्मराउन थालिसकेका छन् ।
कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचनको दुई महिना पहिले नै उमेदवार छान्ने अभिव्यक्ति दिइसकेका छन् ।
नेकपा (एमाले) ले मंसिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय भेलाको आयोजना गर्दैछ । एमालेले आवश्यक परे सडक वा चुनावमा लाग्ने गरी आफ्नो कार्यकर्ता पङ्तिलाई निर्देश गर्ने तयारी गरेको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ‘जागरण अभियान’ सुरु गरेको छ ।
गत प्रतिनिधिसभा निर्वाचन परिणामले हैसियत फेरिएका दलहरू स्थानीय निर्वाचनमा आफ्नो साख जोगाउने दाउमा छन् ।
वैशाख पहिलो साता चुनाव !
सरकारले चुनावबारे मुख खोलेको छैन । उता निर्वाचन आयोगका अधिकारीहरू पनि स्थानीय तहको निर्वाचन फागुनमै हुने सम्भावना देख्दैनन् । जनप्रतिनिधिहरूको कार्यावधि दुई महिना बाँकी रहँदै चुनाव गर्दा व्यावहारिक जटिलता भने देखिने ठम्याइ एक अधिकारीको छ ।
“दुई महिनाअगावै चुनाव गर्नु त्यति व्यवहारिक देखिँदैन । चुनाव भइसकेपछि नतिजा आउन धेरै समय लाग्दैन । पुराना जनप्रतिनिधिहरूको कार्यकाल दुई महिना बाँकी रहँदै नयाँलाई शपथ खुवाएर कहाँ राख्नू ?,” आयोगका एक अधिकारीले भने ।
निर्वाचन चैतको अन्तिम साता वा वैशाखको पहिलो साता हुने सम्भावना रहेको ती अधिकारी बताउँछन् ।
“सरकारलाई कानुनी व्यवस्थाबारे जानकारी आयोगले गराउने हो । तर, फागुनमै निर्वाचन हुने सम्भावाना छैन । चैतको अन्तिम सातादेखि वैशाखको पहिलो साताभित्र निर्वाचन होला,” ती अधिकारीले भने ।
