काठमाडौं, १८ कार्तिक । अमेरिकामा सम्पन्न मध्यावधि निर्वाचनको मतगणना जारी रहँदा दुवै सदनमा डेमोक्रेटिक पार्टीका उम्मेदवारले अग्रता लिएका छन् । हालसम्मको मतपरिणामअनुसार तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स र माथिल्लो सदन सिनेट दुवैमा डेमोक्रेटिक पार्टी अघि देखिएको छ ।
तल्लो सदनका सबै ४३५ सिटका लागि निर्वाचन भएको थियो । जारी मतगणनामा डेमोक्रेटिक पार्टीका उम्मेदवार २०५ सिटमा अगाडि छन् भने रिपब्लिकन पार्टीका उम्मेदवार ११७ सिटमा अघि देखिएका छन् । तल्लो सदनमा बहुमत कायम गर्न २१८ सिट आवश्यक पर्छ ।
त्यस्तै, माथिल्लो सदन सिनेटमा पनि डेमोक्रेटिक पार्टीका उम्मेदवार ५३ सिटमा अग्रस्थानमा रहँदा रिपब्लिकन उम्मेदवार ४१ सिटमा अगाडि छन् ।
मध्यावधि निर्वाचनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यशैली र नीतिप्रतिको जनमत परीक्षणका रूपमा हेरिएको थियो । दुवै सदनमा डेमोक्रेटिक पार्टीको पकड बलियो बन्दै गएसँगै ट्रम्प र उनको रिपब्लिकन पार्टीका लागि संसद्मा चुनौती थपिने देखिएको छ ।
