काठमाडौं, १९ कार्तिक ।  अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीको जितपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा तल झरेको छ । यससँगै अमेरिकी तथा भारतीय सेयर बजारमा उल्लेख्य वृद्धि देखिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारको बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य आठ प्रतिशतभन्दा बढीले घटेर प्रतिब्यारेल करिब ९५ डलरमा झरेको छ । यो पछिल्लो दुई महिनायताकै न्यून मूल्य हो ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँगको युद्धका कारण रिपब्लिकन पार्टीले निर्वाचनमा पराजय बेहोर्नुपरेको टिप्पणी गरेपछि तेलको मूल्यमा गिरावट आएको हो ।

भान्सको अभिव्यक्तिपछि लगानीकर्ताहरूले मध्यपूर्वमा द्वन्द्व थप चर्किने सम्भावनाको पुनर्मूल्यांकन गरेका छन् । युद्ध अन्त्य गर्ने, जीवनयापनको लागत घटाउने र इजरायलसँगको अमेरिकी सम्बन्धको समीक्षा गर्ने उनको प्रस्तावलाई पनि बजारले सकारात्मक रूपमा लिएको देखिएको छ । 

निर्वाचन परिणामलाई मध्यपूर्वमा तनाव कम हुन सक्ने संकेतका रूपमा समेत हेरिएको छ ।

बुधबार अमेरिकी सेयर बजारका प्रमुख सूचकांकमा पनि वृद्धि भएको छ । डाउ जोन्स इन्डस्ट्रियल एभरेज तीन प्रतिशतले बढेको छ भने एसएन्डपी ५०० मा १.६ प्रतिशत र प्रविधि कम्पनीहरूको बाहुल्य रहेको नास्डाक कम्पोजिटमा १.४ प्रतिशतको वृद्धि भएको छ ।

भारतको सेयर बजारमा पनि उल्लेख्य सुधार देखिएको छ । सेन्सेक्स एक हजार ३८८.४३ अंक अर्थात् १.८ प्रतिशतले बढेको छ भने निफ्टी ३८२.१५ अंक अर्थात् १.५९ प्रतिशतले उकालो लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *