सर्लाही, २८ कार्तिक । धनुषाको धनौजीमा आयोजित वडा स्तरीय क्रिकेट प्रतियोगिता ‘धनौजी प्रिमियर लिग’ (DPL) को उपाधि धनुषाको महुलिया टिमले जितेको छ ।
स्थानीय लगान युवा क्लब (LAGAN YOUTH CLUB) को आयोजनामा सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल महोत्तरीको देवनमा र धनुषाको महुलियाबीच भएको थियो ।
फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको महोत्तरीको देवनमा टिमले सबै विकेट गुमाउँदै १०९ रन बनाएको थियो । जवाफमा ११० रनको लक्ष्य पछ्याएको महुलिया टिमले सहजै लक्ष्य पूरा गर्दै उपाधि आफ्नो नाममा गर्न सफल भयो ।
प्रतियोगितामा विजेता महुलिया टिमले नगद ३५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता देवनमा टिमले नगद १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ ।
प्रतियोगिताको समापन स्थानीय युवा नेता रोशन मिश्रको प्रमुख आतिथ्यमा भएको थियो । समापन समारोहमा स्थानीय युवा, खेलप्रेमी तथा सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मिश्रले खेलकुदले युवामा अनुशासन, एकता, सहकार्य र नेतृत्व क्षमताको विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
उनले यस्ता प्रतियोगिताले स्थानीय स्तरमा लुकेर रहेका खेल प्रतिभाको पहिचान गर्नुका साथै खेलकुद क्षेत्रको विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गर्दै प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए ।
स्थानीय स्तरमा क्रिकेट खेलको प्रवर्द्धन गर्ने, युवाको खेल प्रतिभालाई उजागर गर्ने तथा खेलकुदप्रति आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
डि.पि.एल. ले धनौजी क्षेत्रमा क्रिकेटको विकाससँगै युवाहरूबीच आपसी सद्भाव, प्रतिस्पर्धा र खेलभावनाको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
