सर्लाही, ४ साउन । प्रधानमन्त्री बालेन शाहले सरोकारवालासँग शेयर बजारबारे सरोकारवालासँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री शाहले शेयर बजार सुधारलाई प्राथमिकतामा राख्दै आज शेयर बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवालासँग विशेष छलफल गर्न लागेको सचिवालयले जनाएको छ ।
मध्यान्ह १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सबैलाई डाकिएको छ ।
बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नवराज सिलवाल र नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठलगायतलाई बोलाइएको छ ।
बैठकमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रको सदृढीकरण, नीतिगत सुधार लगायत विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।
