सर्लाही, १६ साउन । विश्व स्तनपान सप्ताह आजदेखि विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाउन थालिएको छ ।
सन् १९९२ देखि सुरु भएको यो सप्ताह हाल विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), युनिसेफलगायतका अन्तर्राष्ट्रिय संस्थाको सहकार्यमा १२० भन्दा बढी देशमा मनाइँदै आएको छ ।
जीवनको पहिलो ६ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउने अर्थात् पूर्ण स्तनपानलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ मनाइने यस सप्ताहले नयाँ अभिभावकमाझ स्तनपानको महत्वबारे जनचेतना फैलाउने र शिशुको स्वास्थ्य सुधारमा योगदान पु¥याउने लक्ष्य राखेको छ ।
स्वास्थ्य विज्ञका अनुसार जन्मेदेखि ६ महिनासम्म शिशुलाई आमाको दूधबाहेक पानी, ग्लुकोज, भिटामिन वा अन्य कुनै पनि खाना आवश्यक पर्दैन ।
शिशुलाई आवश्यक पोषक तत्त्व, पानी तथा रोग प्रतिरोधात्मक क्षमता आमाको दूधबाटै प्राप्त हुने भएकाले यो अवधिमा पूर्ण स्तनपान गर्न सिफारिस गरिएको छ ।
पूर्ण स्तनपानले शिशुको शारीरिक तथा मानसिक विकासमा सहयोग पुग्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने, सङ्क्रामक रोगको जोखिम घटाउने र बाल मृत्युदर कम गर्न महत्वपूर्ण भूमिका खेल्ने स्वास्थ्यकर्मीहरू बताउँछन् । यसले आमाको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने जनाइएको छ ।
त्यस्तै, शिशु जन्मेको एक घण्टाभित्र आमाको दूध खुवाउन सुरु गर्नुलाई प्रारम्भिक स्तनपान भनिन्छ । जन्मिएपछि आउने पहेँलो बिगौती दूध (कोलोस्ट्रम) रोगसँग लड्ने प्रतिरक्षात्मक तत्त्वले भरिपूर्ण हुने भएकाले यसलाई शिशुको पहिलो प्राकृतिक खोपका रूपमा समेत लिने गरिन्छ ।
स्वास्थ्यकर्मीहरूले शिशु ६ महिना पुगेपछि आमाको दूधसँगै पोषिलो थप आहार सुरु गर्न र कम्तीमा दुई वर्षसम्म स्तनपानलाई निरन्तरता दिन आग्रह गरेका छन् ।
