सर्लाही, १० असाेज । जलवायु परिवर्तनको असर र यसले विश्व समुदायलाई दिएको चेतावनीबारे संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले व्यक्त गर्नुभएको विचारले विश्व समुदायमा सकारात्मक सन्देश दिएको विश्लेषकहरूले बताएका छन् ।
जलवायुजन्य विपत्बाट नेपालले अहिले भोगेको पीडाको पाठ सिकेर भविष्यमा थप क्षति हुन नदिने गरी विशेष अभियान चाल्न नेपालको प्रस्तुतिले दबाब बढाएको यस क्षेत्रका जानकारहरूको बुझाइ छ ।
राष्ट्रसङ्घको ८१ औँ महासभालाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनको असर, यसबाट नेपालले हाल भोगिरहेको पीडा र भविष्यमा निम्त्याउन सक्ने विश्वव्यापी सङ्कटलगायतका विषय उठाउनुभएको थियो ।
यस्ता विषय उठाउने उपयुक्त थलो संयुक्त राष्ट्रसङ्घको महासभा भएको बताउँदै पूर्वराजदूत नीलाम्बर आचार्यले प्रधानमन्त्रीको सम्बोधनबाट नेपालको पहल निकै सकारात्मक देखिएको बताउनुभयो ।
नेपालको पीडामा विश्व समुदायले दिएको साथप्रति कूटनीतिक रूपमा प्रधानमन्त्री शाहले आभार प्रकट गर्नुभएको बताउँदै आचार्यले भन्नुभयो, “नेपालले भोटेकोशी बाढीबाट भोग्नु परेको क्षतिबारे जानकारी गराउँदै मानवजातिलाई भविष्यमा कसरी सुरक्षित राख्ने भन्ने चिन्ता व्यक्त गर्नु राम्रो पक्ष हो ।
”पूर्वराजदूत जयराज आचार्यले प्रधानमन्त्री शाहले प्रस्तुत गर्नुभएको विचार असाध्यै राम्रो भएको बताउँदै भन्नुभयो, “वातावरण बिग्रेर नेपालले जुन पीडा भोगेको छ । त्यसबारे जानकारी गराउँदै प्रधानमन्त्रीले विश्वजगत्को ध्यान खिच्नुभएको छ ।”
डेनमार्कका लागि नेपालका पूर्वराजदूत युवनाथ लम्सालले पनि संसारको सबैभन्दा अग्लो ठाउँ हिमालयबाटै मौसम बदलाबको पूर्वसङ्केत प्राप्त भएको र विश्व समुदायले यसबाट पाठ सिक्नुपर्ने पक्षलाई प्रधानमन्त्री शाहले सशक्त रूपमा उठाउनुभएको बताउनुभयो ।
प्रधानमन्त्री शाहले मिठो भाषामा जलवायु परिवर्तनमा नेपालको भूमिका नगण्य रहेको तर असाध्यै ठुलो प्रभावको सामना गर्नु परेको विषयलाई उठाउनुभएको लम्सालको भनाइ छ ।
पूर्वपरराष्ट्र सचिव डा. मदनकुमार भट्टराईले पनि सबै दृष्टिकोणबाट हेर्दा महासभामा प्रधानमन्त्रीको उपस्थिति सशक्त रहेको बताउनुभयो ।
भट्टराईले भन्नुभयो, “प्रधानमन्त्रीको प्रस्तुति छोटो तर विषयवस्तुमा आधारित थियो । जुन प्रस्तुतिले नेपालको कूटनीतिमा नयाँ आयामसमेत थपेको छ ।”
महासभामार्फत विषयवस्तुमा केन्द्रित भएर प्रधानमन्त्रीले दिनुभएको सन्देशले विश्व समुदायको ध्यान खिचेको परराष्ट्रविद् डा. दिनेशकुमार भट्टराईले बताउनुभयो । “प्रधानमन्त्रीले महासभामा जे भन्नुपर्ने हो, त्यही भन्नुभयो । यो सकारात्मक पक्ष हो,” भट्टराईले भन्नुभयो ।
अस्ट्रेलियाका लागि पूर्वराजदूत लक्की शेर्पाले पनि अन्तर्राष्ट्रिय मञ्चमा नेपालले आफ्नो विषयलाई सशक्त रूपमा उठाउनु प्रशंसायोग्य भएको बताउनुभयो ।
प्रधानमन्त्री शाहबाट भएको यो कामले मुलुकलाई गौरवान्वित बनाएको बताउँदै शेर्पाले भन्नुभयो, “अब अर्को चुनौती भनेको प्रधानमन्त्रीज्यूले उठान गर्नुभएको विषय कार्यान्वयनमा जान्छ कि जाँदैन वा कसरी जान्छ भन्ने हो ।”
