काठमाडौं, १५ असोज । अमेरिकामा सन् २०२८ को राष्ट्रपतीय निर्वाचनलाई लक्षित गर्दै डेमोक्रेटिक पार्टीभित्र एआईसम्बन्धी नीति बहस तीव्र बन्दै गएको छ ।

यस बहसमा पूर्वराष्ट्रपति बाराक ओबामा प्रत्यक्ष रूपमा कुनै उम्मेदवारको पक्षमा उभिएका छैनन्, तर सम्भावित राष्ट्रपतीय उम्मेदवारहरूसँगको नियमित संवाद र एआई कम्पनीका प्रमुख तथा विज्ञहरूसँगको छलफलमार्फत उनको प्रभाव देखिन थालेको छ ।

सीएनएनका अनुसार सन् २०२८ को राष्ट्रपतीय दौडमा रहेका सम्भावित डेमोक्रेटिक उम्मेदवारहरूले ओबामासँग एआईबारे छलफल गरिरहेका छन् । उनीहरूले एआईका सम्भावित प्रभावबारे अध्ययन भइरहेको र नीति निर्माणको तयारी गरिरहेको बताउने गरेका छन् ।

तर ओबामाले अहिलेसम्म आफूले सुनेका योजना समस्याको दायराअनुसार पर्याप्त नभएको भन्दै उनीहरूलाई अझ गम्भीर र विस्तृत तयारी गर्न आग्रह गर्दै आएका छन् ।

ओबामाका वरिष्ठ सल्लाहकार एरिक सुल्ट्जका अनुसार पूर्वराष्ट्रपतिले एआई कसरी विकास र प्रयोग हुँदै छ भन्नेबारे ‘तथ्यमा आधारित र सूचनामूलक बहस’ आवश्यक ठानेका छन् ।

उनका अनुसार एआईले अमेरिकी अर्थतन्त्र र लोकतन्त्रमा पार्ने प्रभाव प्रविधि आफैँले मात्र होइन, सरकारले गर्ने नीतिगत निर्णयले पनि निर्धारण गर्नेछ ।

एआई कम्पनीदेखि राजनीतिज्ञहरूसम्म संवाद
ह्वाइट हाउस छाडेको एक दशक भइसक्दा पनि ओबामा डेमोक्रेटिक पार्टीका नयाँ पुस्ताका नेताहरूसँग नियमित सम्पर्कमा छन् ।

सीएनएनका अनुसार उनले क्यालिफोर्निया भ्रमणका क्रममा, वासिङ्टनस्थित कार्यालयबाट तथा टेलिफोनमार्फत एआई क्षेत्रका प्रमुख व्यक्तिहरूसँग छलफल गर्दै आएका छन् ।

उनले ओपनएआईका प्रमुख साम अल्टम्यान तथा गुगल र एन्थ्रोपिकका कार्यकारीहरूसँग पनि कुराकानी गरेका छन् । साथै एआई विज्ञ, अध्येता र पूर्वसहयोगीहरूसँग छलफल गरिरहेका छन् ।

ओबामा एआईसम्बन्धी विषयमा गहिरो अध्ययन गरिरहेका छन् । उनी प्रविधि, रोजगारी, राष्ट्रिय सुरक्षा र गलत सूचना फैलिने जोखिमजस्ता विषयमा केन्द्रित छन् । विशेषगरी बालबालिकामाथि एआईमार्फत फैलिन सक्ने गलत सूचनाको प्रभावबारे उनी चिन्तित रहेको जनाइएको छ ।

यसअघि ओबामाले एआईबारे हल्का शैलीमा टिप्पणी गर्ने गरेका थिए । तर पछिल्ला वर्षहरूमा उनले प्रविधिको तीव्र विकासको तुलनामा सरकार र समाज त्यसको परिणाम सामना गर्न पर्याप्त तयार नभएको धारणा व्यक्त गर्दै आएका छन् ।

सेप्टेम्बरमा कोलगेट विश्वविद्यालयमा आयोजित कार्यक्रममा उनले क्यान्सर उपचार वा ऊर्जा क्षेत्रमा प्रगति गर्न एआई प्रयोग गर्न सकिने भए पनि इन्टरनेटमा स्वतन्त्र रूपमा चल्ने ‘एजेन्टिक एआई’ आवश्यक नहुने बताएका थिए ।

उनको भनाइमा प्रविधिको तीव्र विस्तारमा व्यावसायिक स्वार्थको भूमिका पनि महत्त्वपूर्ण छ ।

‘गम्भीर नियामक ढाँचा’ आवश्यक
ओबामाले एआईका लागि सङ्घीय सरकारले गम्भीर नियामक प्रणाली बनाउनुपर्ने धारणा राखेका छन् । उनले खाद्य पदार्थ वा हवाई यातायातका क्षेत्रमा सरकारले मापदण्ड निर्धारण गरेजस्तै एआईका लागि पनि स्पष्ट नियम आवश्यक रहेको बताएका छन् ।
तर उनले सन् २०२८ का सम्भावित उम्मेदवारलाई हस्ताक्षर गराउन कुनै निश्चित एआई नीति वा विधेयक अघि सारेका छैनन् । उनको जोड एआईको प्रभावबारे स्पष्ट बुझाइ विकास गर्न र नीति निर्माणका लागि तयारी गर्नमा रहेको छ ।

यसबीच रिपब्लिकन पक्षमा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले एआईको व्यापक सङ्घीय नियमनप्रति फरक दृष्टिकोण राखेको छ । ट्रम्पले सेप्टेम्बर २९ मा एआई कम्पनीका प्रमुखहरूलाई ह्वाइट हाउसमा बोलाएर कम्पनीहरूले आफ्ना एआई मोडलको ‘सेल्फ–पोलिसिङ’ सुधार गर्ने प्रतिबद्धताबारे छलफल गरेका थिए ।

ट्रम्पले ‘आर्टिफिसियल इन्टेलिजेन्स’को सट्टा ‘सुपर इन्टेलिजेन्स’ भन्ने शब्द प्रयोग गर्ने कार्यकारी आदेश ल्याउने सङ्केत पनि दिएका छन् ।

डेमोक्रेटहरूका लागि एआई राजनीतिक जोखिम पनि
डेमोक्रेटिक पार्टीका सम्भावित उम्मेदवारहरूका लागि एआई नीति केवल प्राविधिक वा आर्थिक विषयमा सीमित छैन । एआई उद्योगले राजनीतिमा ठूलो रकम खर्च गर्न थालेकाले उनीहरू सावधानीपूर्वक अघि बढिरहेका छन् ।

एडइम्प्याक्टको तथ्याङ्कअनुसार, एआई उद्योगसँग सम्बन्धित बाह्य समूहहरूले सन् २०२६ का निर्वाचनमा करिब ५ करोड डलर खर्च गरेर विभिन्न विज्ञापन अभियान चलाएका छन् ।

सङ्घीय निर्वाचन आयोगका विवरणअनुसार एआईसँग सम्बन्धित केही प्रमुख पीएसी (अमेरिकामा निर्वाचनमा खर्च जुटाउने ‘पोलिटिकल एक्सन कमिटी’) र अन्य गैरनाफामूलक संस्थाहरूले यस निर्वाचन प्रक्रियाका क्रममा उल्लेख्य रकम सङ्कलन गरेका छन् ।

न्युयोर्कका विधानसभा सदस्य एलेक्स बोरेस एआई नियमनका पक्षमा सक्रिय रहेपछि उनीसँग सम्बन्धित चुनावमा एआईसम्बद्ध पीएसीबाट ठूलो रकम खर्च भएको थियो ।

उनका अनुसार सन् २०२८ का सम्भावित उम्मेदवार र उनीहरूका सल्लाहकारहरूले एआई उद्योगको चुनावी खर्चबारे चासो व्यक्त गर्ने गरेका छन् ।

यसले डेमोक्रेटिक नेताहरूलाई दुईतर्फी चुनौती दिएको छ । एकातिर एआई कम्पनीबाट प्रभावित भएको नदेखिनुपर्ने बाध्यता छ भने अर्कोतिर अत्यधिक कडा नियमनको पक्षमा उभिँदा उद्योगबाट ठूलो चुनावी खर्च (चन्दा) नआउने जोखिम पनि छ ।

रोजगारीदेखि डेटा सेन्टरसम्म बहस
फेडरल ट्रेड कमिसन (एफटीसी) की पूर्वअध्यक्ष लिना खानले भने एआईबारे बहसलाई मानव अस्तित्व समाप्त हुने सम्भावनाजस्ता अत्यन्त अमूर्त प्रश्नमा मात्र सीमित गर्न नहुने बताएकी छन् । उनका अनुसार अमेरिकी नागरिकले अहिले डेटा सेन्टरका कारण बढ्न सक्ने पानी र विद्युत् खर्च तथा एआई च्याटबटबाट दैनिक सेवामा उत्पन्न हुने समस्याजस्ता प्रत्यक्ष प्रभाव महसुस गरिरहेका छन् ।

पूर्ववाणिज्यमन्त्री (वाणिज्य सचिव) जिना राइमन्डोले भने एआई अर्थतन्त्रमा श्रमिकलाई कसरी रूपान्तरण गर्ने भन्ने विषयमा जोड दिएकी छन् ।

उनले भविष्यमा अमेरिकामा कस्तो अर्थतन्त्र निर्माण हुने र एआईको समयमा अमेरिकी श्रमिकले राम्रो रोजगारी कसरी पाउने भन्नेबारे उम्मेदवारहरूले अग्रिम योजना बनाउनुपर्ने बताएकी छन् ।

सेनेटर मार्क केलीले पनि एआईका कारण रोजगारीमा आउन सक्ने परिवर्तनलाई सम्बोधन गर्ने विधेयक अघि सारेका छन् । उनले एआई कम्पनीबाट रकम लिएर बढ्दो विद्युत् खर्च, पूर्वाधार र सुरक्षा उपायमा लगानी गर्ने प्रस्तावसहितको मार्गचित्र (रोडम्याप) समेत सार्वजनिक गरेका छन् ।

यसरी डेमोक्रेटिक पार्टीभित्र एआई बहस अहिले नियमन, रोजगारी, राष्ट्रिय सुरक्षा, डेटा सेन्टर, ऊर्जा लागत, गलत सूचना र राजनीतिक चन्दासम्म फैलिएको छ ।

यस बहसमा ओबामाले कुनै एउटै नीति थोपरेका छैनन्, तर सम्भावित उम्मेदवारहरूलाई एआईको तीव्र परिवर्तन र त्यसको राजनीतिक प्रभावका लागि अहिलेभन्दा गम्भीर तयारी गर्न निरन्तर दबाब दिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *