सर्लाही, २३ साउन । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आदिवासी जनजातिको भाषालाई डिजिटल माध्यममार्फत प्रयोगमा ल्याउनुपर्ने बताएका छन् ।

३१औँ विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, युनेस्को नेपाल र एफएओ नेपालको संयुक्त आयोजनामा बिहीबार वसन्तपुर डबलीमा आयोजित ‘प्रोमोटिङ इन्डिजिनियस् नलेज सिस्टम’ (आदिवासी ज्ञान प्रवर्द्धन) कार्यक्रममा उनले आदिवासी जनजातिको भाषालाई डिजिटल प्रयोगमा ल्याउनुपर्ने बताए ।

उनले भने, ‘कृत्रिम बौद्धिकता र प्रविधिको माध्यमबाट आदिवासी जनजातिका लोपोन्मुख भाषा, लिपी, संस्कृति, मौखिक परम्परा, गीत, कथा, वस्तुकला, औषधीय ज्ञानजस्ता सम्पदालाई सुरक्षित राख्न र विश्व मञ्चमा प्रवर्धन गर्न सकिन्छ । उदाहरणका लागि नेवार समुदायको नेपाल भाषा गुगल समुदायमा समावेश हुनु विश्वभाषामा त्यस भाषाको मान्यता हुनु यही प्रविधि प्रयोगको सकारात्मक रूप हो।’

अध्यक्ष दाहालले यसवर्ष आदिवासीको भाषा र परम्परागत खानालाई केन्द्रमा राखेर कार्यक्रम आयोजना भएको र यसले बहुआयामिक सांस्कृतिक पहिचानप्रति सम्मान जनाएको भनाइ राखे । उनले सन् १९९४ डिसेम्बर २३ मा बसेको संयुक्त राष्ट्र संघको महासभाले अगस्ट ९ लाई विश्व आदिवासी दिवसको रूपमा मनाउने निर्णय गरेको र नेपालमा पनि सोही समयदेखि यो दिवस मनाइँदै आएको बताए।

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले ३१औँ विश्व आदिवासी दिवस सप्ताहव्यापी रूपमा सभ्य र भव्य ढंगबाट मनाउने बताए । ‘सरकार वा सम्बन्धित पक्षसँग आफ्नो आवाज राख्ने अवसरका रूपमा यस दिवसलाई लिनुपर्छ।’ उनले भने । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले लामो समयदेखि आदिवासी समुदाय अधिकारका लागि संघर्षरत रहेको बताउँदै सरकारले प्रदेशमा आदिवासीहरूको भाषा चाँडै सरकारी कामकाजको भाषा लागु हुने गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

उनका अनुसार विश्वका ८० प्रतिशत खाद्यान्न पदार्थको ज्ञान आदिवासीको ज्ञान र सीपमा आधारित रहेको छ ।

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका अध्यक्ष ङिमी शेर्पाले आदिवासी खाद्यान्न एवम् परम्परागत ज्ञान संरक्षण एवम् विस्तारमा महिलाको भूमिका महत्वपूर्ण रहने बताइन् । विकासका नाममा आदिवासी समुदाय आफ्नो थात्थलोबाट नै विस्थापित भइरहेको भन्दै यसप्रति सबैको ध्यानाकर्षण हुनुपर्नेमा उनको भनाइ थियो ।

नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषाले सरकारी कामकाजको भाषाको रूपमा मान्यता पाएको भन्दै गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई पनि सरकारी कामकाजको भाषाको रूपमा अघि बढाउने पहल भइरहेको बताए । आदिवासी जनजाति समुदायको हक, अधिकार कार्यान्वयनका लागि अघि बढ्नुपर्ने उनको भनाइ छ।

कार्यक्रममा नेवार, थारू, तामाङ, गुरुङ, मगर, सुनुवार, भुजेल, माझी, छन्त्याल, थामी समुदायको सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो।

यसका साथै थारू कल्याणकारिणी सभा (थाकस)ले थारू खानाका परिकारहरू प्रदर्शन गरेको थियो। थारू खानामा घोङ्घी, अनदीको भात, भक्का, गंगटाको परिकार, महुवाको रक्सी, ढिक्री, बरिया, बयरको चटनी, चिच्चर, खुर्मा, जाँरको झोल राखिएको थियो। जसको राष्ट्रिय सभाध्यक्षले अवलोकन गरेका थिए । 

थाकसका अध्यक्ष प्रेमीलाल चौधरीका पूर्वदेखि पश्चिमसम्मको थारू परिकार प्रदर्शनमा राखिएको थियो। यस्तै नेवार समुदायको विशेष परिकार खाजाको रूपमा प्रयोग गरिएको थियो।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य सुरेश आले मगर, सांसद उर्मिला माझी, नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्षहरू नगेन्द्रकुमार कुमाल, जगत बराम, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष लक्की चौधरी, आदिवासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष चन्द्रप्रसाद चौधरी लगायतको उपस्थित थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *