सर्लाही, २६ कार्त्तिक । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मतदान गर्नका लागि मिति २०८२ साल फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकहरूलाई मात्र मतदाता नामावलीमा नाम दर्ता गरिदिन अपिल गरेको छ ।
आयोगका अनुसार नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका तर तोकिएको मिति २०८२/११/२० गतेसम्म १८ वर्ष उमेर पूरा नहुने नागरिकहरूले निर्वाचन सम्पन्न भएपछि पनि मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन् ।
आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार नाम दर्ता स्थलहरूमा देखिएको सेवाग्राहीको अत्यधिक चापलाई व्यवस्थापन गर्न र सहज रूपमा सेवा प्रवाह गर्नका लागि दैनिक ८०० भन्दा बढी नाम दर्ता भइरहेका जिल्लाहरूमा ६–६ घण्टाका दरले दुई सिफ्टमा (दैनिक १२ घण्टा) सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ ।
यस व्यवस्थापनका लागि काठमाडौँ उपत्यकाभित्रका तीन जिल्लाको हकमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट थप १४ जना दर्ता कर्मचारी खटाएर सेवा प्रवाह गर्ने प्रबन्ध मिलाइएको आयोगले जनाएको छ ।
अन्य जिल्लाहरूको हकमा भने सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले सेवाग्राहीको चापको आधारमा थप जनशक्ति खटाउने गरी गृह मन्त्रालयमा पत्राचार गरिएको आयोगको भनाई छ ।

