सर्लाही, १८ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा तीन वटा कामको घोषणा गरेका छन्। 

आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवसको अवसरमा मन्त्री यादवले भिडियो सन्देश जारी गर्दै पहिलो घोषणाअन्तर्गत पाँच वर्षे राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको बताए ।

उक्त कार्यक्रमले प्रत्येक श्रमिकको सुरक्षा, स्वास्थ्य र सुरक्षित कार्य वातावरणको अधिकार सुनिश्चित गर्ने उनको भनाइ छ । 

दोस्रो घोषणामा विदेशमा रहेका नेपाली श्रमिकसँग प्रत्यक्ष संवाद, सूचना प्रवाह र समस्या समाधानलाई प्रभावकारी बनाउन विदेशस्थित नेपाली दूतावासमा रहेका श्रम सहचारी/कन्सुलरबाट हप्तामा एक पटक फेसबुक लाइभ कार्यक्रम सञ्चालन गरिने पनि मन्त्री यादवले उल्लेख गरे ।

“अब तपाईंहरू जहाँ हुनुहुन्छ सरकार तपाईसँगै छ,” उनले भने ।मन्त्री यादवले तेस्रो घोषणमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध भएका श्रमिकहरुले घडेरी खरिद गर्नका लागि ६ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराइने उल्लेख गरे ।

त्यसबाहेक रु एक करोड ५० लाखसम्म नियमानुसार सापटी लिन सक्ने व्यवस्था मिलाइएको पनि उनको भनाइ छ । यसका अतिरिक्त नीतिगत सुधार, संस्थागत पुनर्संरचना तथा नवीन रोजगारी सृजनाका कार्यक्रमहरू पनि अघि बढिरहेको उनले बताए ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *