सर्लाही, ४ साउन । किसानलाई आवश्यक पर्ने रासायनिक मलको आपूर्ति सहज बनाउन भारतबाट खरिद गरिएको १ हजार २५० मेट्रिक टन डीएपी (डाइ-अमोनियम फस्फेट) मल आज नेपाल आइपुग्ने भएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार ग्लोबल टेन्डरमार्फत खरिद गरिएको ३० हजार मेट्रिक टन डीएपी मलमध्ये पहिलो खेप भारतको कोलकाता बन्दरगाहबाट साउन १ गते नेपालतर्फ ढुवानी सुरु गरिएको थियो । उक्त खेप आज वीरगन्ज नाकामार्फत नेपाल भित्रिने तयारी छ ।
कम्पनीका अनुसार बाँकी डीएपी मलको प्याकेजिङ (ब्यागिङ) कार्य कोलकाता बन्दरगाहमै भइरहेको छ । प्याकेजिङ सकिएसँगै अर्को एक रेक मल पनि आज वीरगन्जतर्फ पठाइएको छ भने बाँकी मल क्रमिक रूपमा नेपाल ल्याइनेछ ।
यता ३० हजार मेट्रिक टन युरिया मल पनि कोलकाता बन्दरगाहमा आइपुगेको छ । हाल त्यसको अनलोडिङ र ब्यागिङको काम जारी रहेको कम्पनीले जनाएको छ । प्रक्रिया पूरा भएपछि युरियाको पहिलो खेप पनि वीरगन्जका लागि लोड गर्ने तयारी भइरहेको कम्पनीको भनाइ छ ।
कृषि सामग्री कम्पनीले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन आयात र ढुवानीको प्रक्रिया तीव्र गतिमा अघि बढाइएको जनाएको छ ।
