सर्लाही, ४ साउन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका बेलडाँडी गाउँपालिकाका तीनजना महिलाको सकुशल उद्धार गरिएको छ भने भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ जना महिलाको अवस्था अझै अज्ञात छ ।
रणसिंह दल गणका क्याप्टेन सुमन केसीको नेतृत्वमा खटिएको नेपाली सेनाको टोलीले सोमबार बिहान निकुञ्जभित्रको लल्लेरी क्षेत्रबाट बेलडाँडीका तीन जना महिलाको सकुशल उद्धार गरेको थियो ।
आइतबार बिहान च्याउ टिप्न निकुञ्जमा प्रवेश गरेका भीमदत्त नगरपालिका-१९ बागफाँटाका १४ जना महिला भने अझै सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक नेत्रमणि गिरीले जानकारी दिए ।
उनका अनुसार सम्पर्कविहीन महिलाहरू ५ र ९ जनाको दुई समूहमा विभाजित भएर आइतबार बिहान करिब ११ बजे निकुञ्जमा प्रवेश गरेका थिए। साँझसम्म घर नफर्किएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर राउत स्वयं खोजी अभियानमा खटिएका छन् ।
प्रहरीका अनुसार महिलाहरू च्याउ खोज्ने क्रममा निकुञ्जको भित्री क्षेत्रमा पुगेर बाटो बिराएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
हाल नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले निकुञ्जभित्र सम्पर्कबिहीन भएकाहरूको खोजी गरिरहेको छ ।
