भारत, २२ कार्तिक । भारतमा दिवाली (दीपावली) तथा लक्ष्मीपूजाका दिन आइतबार राति खुसियाली मनाउने क्रममा पटाका र अन्य कारण आगलागी हुँदा एकै परिवारका ६ सदस्यसहित २२ जनाको मृत्यु भएको छ छ। साथै घटनामा धेरै जना घाइते भएका छन् भने केही बेपत्ता भएका छन् ।
भारतीय अनलाइन दैनिक भास्करका अनुसार सबैभन्दा बढी मध्य प्रदेशमा दुई छुट्टाछुट्टै घरमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ ।
यस्तै महाराष्ट्रको धाराशिव जिल्लामा आगलागीबाट किराना पसलमाथिको घरमा बस्ने एकै परिवारका ६ जनाको मृत्यु भएको छ ।
यस्तै मुम्बईको लोखन्डवाला जिल्लामा भएको आगलागीमा एक जनाको मृत्यु भएको छ ।
यसैगरी राजस्थानको पालीमा पटाका पसलमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन् ।
आगलागीमा परी तीन पसल र धेरैवटा दुईपाङ्ग्रे सवारीसाधन जलेर नष्ट भएका छन् ।
दिल्लीको नरेलामा रकेट पटाका पड्किएर पेटमा लाग्दा १० वर्षीय बालकको मृत्यु भएको छ ।
