सर्लाही, १६ साउन । सुनसरी, सिरहालगायत जिल्लामा हालै उत्पन्न तनावलाई मध्यनजर गर्दै सर्लाहीको हरिवन र लालबन्दीमा आज (शनिबार) बिहान सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले सद्भाव र्‍याली निकालिएको छ ।

हरिवनमा महेन्द्र राजमार्गको पश्चिम लच्कादेखि पूर्वी लच्कासम्म र्‍याली निकालिएको थियो । त्यसपछि हरिवन चोकस्थित सगुन सहकारी अगाडि आयोजित कोणसभामा वक्ताहरूले सबै धर्म, जातजाति र समुदायबीच आपसी सम्मान, सहिष्णुता तथा सामाजिक एकता कायम राख्नुपर्नेमा जोड दिएका छन् ।

सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य नरेन्द्रप्रसाद साह कलवार, पूर्वमन्त्री हरिप्रसाद उप्रेती तथा हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकीले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र पारस्परिक सम्मानलाई निरन्तर कायम राख्न सबै नागरिकलाई आग्रह गरे ।

नगरप्रमुख बुढाथोकीको अध्यक्षता तथा सांसद साहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, नेपाली सेनाको पाँचकुमारी गणका प्रमुख सेनानी उमेश खड्का, प्रहरी उपरीक्षक रवीन्द्रनाथ पौडेल, सशस्त्र प्रहरी उपरीक्षक अमरबहादुर खत्रीलगायत सुरक्षा निकायका प्रमुख तथा विभिन्न क्षेत्रका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

यसअघि शुक्रबार हरिवनमा आयोजित सर्वपक्षीय छलफलले सामाजिक सद्भाव कायम राख्ने निर्णय गर्दै आज (शनिबार) सद्भाव र्‍याली आयोजना गर्ने सहमति गरेको थियो ।

सहभागीहरूले विभिन्न जातजाति र धर्मका मानिसको साझा बसोवास रहेको हरिवनलाई सधैं शान्त, सुरक्षित र सद्भावपूर्ण बनाइराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उता, लालबन्दीमा पनि सामाजिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले महेन्द्र राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका-६ को जनवादी चोकदेखि वडा नं. ७ स्थित डुमडुमे मन्दिरसम्म सद्भाव र्‍याली निकालिएको थियो ।

र्‍यालीपछि आयोजित कोणसभामा नगरप्रमुख वासुदेव अधिकारीले सबै जातजाति र धर्मका समुदाय मिलेर बस्नु नै लालबन्दीको पहिचान र विशेषता भएको उल्लेख गर्दै त्यसलाई जोगाइराख्न सबैलाई आग्रह गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले प्रशासन, सुरक्षा निकाय, जनप्रतिनिधि तथा स्थानीय समुदायबीचको समन्वयका कारण मधेश प्रदेशका अन्य केही जिल्लाको तुलनामा सर्लाही शान्त रहेको भन्दै सबै पक्षप्रति धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा मधेश प्रदेशसभा सदस्य बेची लुंगेली, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, नेपाली सेनाका प्रमुख सेनानी उमेश खड्का, प्रहरी उपरीक्षक रवीन्द्रनाथ पौडेल, सशस्त्र प्रहरी उपरीक्षक अमरबहादुर खत्रीलगायतको उपस्थिति रहेको थियो ।

लालबन्दी नगरपालिका, उद्योग वाणिज्य सङ्घ तथा अन्य सामाजिक संघसंस्थाको संयुक्त आयोजनामा सद्भाव र्‍याली सम्पन्न भएको थियाे ।

सद्भाव र्‍यालीहरूमा हिन्दु, मुस्लिम, बौद्धलगायत विभिन्न धर्मका धर्मगुरु, जनप्रतिनिधि, राजनीतिक दलका नेता, उद्योगी, व्यवसायी, महिला अगुवा, सुरक्षा अधिकारी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो ।

सहभागीहरूले सामाजिक एकता, धार्मिक सहिष्णुता र शान्तिपूर्ण सहअस्तित्वलाई अझ सुदृढ बनाउन सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *