सर्लाही, १७ साउन । शुक्रबार राति मधेश झरेका गृहमन्त्री सुधन गुरुङ ‘हिन्दू सम्राट सेना’ सँग फेरि वार्तामा बसेका छन् । जनकपुरधामस्थित एक होटलमा दुवै पक्षका प्रतिनिधि वार्तामा जुटेका छन् ।

सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङ, प्रतिनिधिसभा सदस्य शिवशंकर यादव र रामविनोद यादव सहभागी छन् । मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी ओमप्रसाद अधिकारी, एपीएफका डीआईजी विष्णु भट्ट, राष्ट्रिय अनुसन्धान विभागका पदाधिकारी, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, नेपाल प्रहरीका एसएसपी भुवनेश्वर तिवारी तथा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी रुपेश खड्कालगायत सुरक्षा तथा प्रशासनका अधिकारी पनि वार्तामा सहभागी छन् ।

हिन्दु सम्राट सेना नेपालको तर्फबाट अध्यक्ष राजेश सनातनी, उपाध्यक्ष कृष्ण सनातनी, महासचिव राकेश सनातनी तथा अन्य पदाधिकारी सहभागी भएका छन् । वार्तामा संयुक्त हिन्दू मोर्चाको तर्फबाट शुक्रबार राति पेश भएका मागहरूबारे छलफल हुने बताइएको छ ।

हिजोको वार्तामा सहमति भइसकेको रास्वपा सांसद मनीष झाले दाबी गरेका थिए । तर, हिन्दू सम्राट सेनाले सहमति भइनसकेको भन्दै उक्त कुरा खण्डन गरेको थियो ।

हिजो रातिको वार्तामा विवाद भएपछि आजको वार्तामा रास्वपाका नेता तथा कार्यकर्तालाई सहभागी गराइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *