सर्लाही, २६ साउन । नेपाली कांग्रेस इतर समूहले आयोजना गर्ने राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीको १५औँ महाधिवेशनसम्बन्धी सम्पूर्ण गतिविधि र दीर्घकालीन निर्णयहरू तत्काल रोक्न माग गर्दै पार्टी केन्द्रीय कार्यालयलाई पत्र लेखेका छन् ।

पत्रमा उनले सर्वोच्च अदालतले पार्टीको वैधानिकता र नेतृत्वको विवादमा यसअघि भएको फैसलालाई पुनरावलोकन गर्ने अनुमतिलाई आधार मानेका छन् । 

‘सम्मानित सर्वोच्च अदालतले उक्त विवादित फैसलामा गम्भीर कानुनी त्रुटि रहेको औँल्याउँदै मुद्दालाई सुरुदेखि नै पुनः पूर्ण रूपमा निरूपण गर्ने गरी निस्सा प्रदान गरेसँगै नेपाली कांग्रेसको वैधानिकता र तत्कालीन नेतृत्वको कानुनी हैसियत पुनः गम्भीर रूपमा न्यायिक पुनरावलोकन को अवस्थामा पुगेको छ,’ उनले पत्रमा लेखेका छन् । 

कोइरालाले पार्टीको आगामी १५ औँ महाधिवेशन वा विशेष महाधिवेशनसम्बन्धी कुनै पनि सांगठनिक, प्राविधिक वा नीतिगत कार्यतालिकाहरू तत्कालका लागि स्थगित गर्न, अदालतको अन्तिम फैसला नआएसम्म पार्टीको तर्फबाट गरिने कुनै पनि दीर्घकालीन प्रभाव पार्ने नीतिगत, राजनीतिक, सांगठनिक वा आर्थिक निर्णयहरू पूर्ण रूपमा यथास्थितिमा राख्न माग गरेका छन् । 

कोइरालाले सोही पत्रको बोधार्थ निर्वाचन आयोगलाई समेत पठाउँदै पार्टीभित्रको कानुनी र नीतिगत संक्रमणकालीन अवस्थाबारे जानकारी गराएका छन् ।

अदालतमा विचाराधीन मुद्दाको अन्तिम परिणामलाई असर पर्ने गरी कुनै पनि गतिविधि अगाडि नबढाउन उनले आग्रह गरेका छन् ।  अन्यथा, अदालतको अवहेलना वा कानुनी प्रतिकूलता सिर्जना भएमा त्यसको जिम्मेवार सम्बद्ध पक्ष नै हुने पत्रमा उल्लेख गरिएको छ । 

sasankacongress-1786437756-1786440324.jpg
sasankacongress1-1786437756-1786440324.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *