सर्लाही, ०३ भदाै । केटीएम पब्लिक ट्रान्सपोर्ट मोबाइल एप्लिकेसन सार्वजनिक गरिएको छ । बुधबार ‘संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद’ को तेस्रो बैठकमा परिषद् अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले एप्लिकेसन सार्वजनिक गरेकी हुन् ।

यो एप्लिकेसनमा जीपीएस जडान भएका करिब १ हजार २ सय सवारीसाधनबारे जानकारी लिन सकिन्छ । यसलाई बढाउँदै लगिने प्राधिकरणको योजना छ ।

बैठकमा अध्यक्ष डंगोलले उपत्यकाभित्रको दिनमा चल्ने यातायात प्रणालीलाई सरल, सहज र पहुँचयुक्त बनाउन तथा रात्रिकालीन सेवालाई विस्तार गर्न र स्कुल कलेज जानुपर्ने विद्यार्थीहरुका लागि बिहान सबैरैदेखि सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने अवस्था रहेकोले यसका लागि स्थानीय तहहरुका बिचमा वित्तीय साझेदारी सहितको प्रणालीमा काम गर्नु पर्ने बताइन् ।

‘सार्वजनिक यातायात कुनै एक पालिकाको सीमाभित्र मात्र राख्न मिल्ने क्षेत्र होइन । पालिका पालिका जोडिने भएकोले यो पालिकाहरुको साझा सवाल हो । यसमा समन्वय गरेर कार्यक्रम र सेवालाई एकरुपता दिनुपर्छ,’ उनले भनिन् ।

बैठकमा परिषद् उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सार्वजनिक बस चढ्ने यात्रुले सहज भएको महसुस गराउने प्रणाली चाहिएको बताए । ‘सार्वजनिक यातायातको सुधारका लागि यो परिषदले आकार बदल्न सक्ने क्षमता राख्छ। यो क्षमताको प्रयोग गरौँ,’ महर्जनले भने ।

बैठकमा प्राधिकरणका कार्यकारी अधिकृत कुबेर नेपालीले अघिल्लो वर्ष सरकारले खारेजीको सूचीमा राखेका कारण अगाडि बढाउन खोजिएका काम पनि रोकिएको बताए ।

यस वर्षका लागि बस स्टपर पिक ड्रप प्वाइन्ट निर्धारण, रात्रि बस सञ्चालनको सर्त, सम्झौताको मोडल तयार गरि नगरपालिकासँग सहकार्य थालनी गर्ने, स्थानीय तहसँगको साझेदारीमा मुख्य बस स्टप, बस पार्क आदिमा जीपीएस ट्याकिङ् समेतका आधारमा सार्वजनिक यातायात सूचना प्रणालीको जडान, नगद रहित भाडादर लागू गर्न कानुनी पूर्वाधार तयार गर्ने कार्यक्रम स्वीकृत भएका छन् ।   

टिकट लिने संस्कार प्रोत्साहन गर्न अभियान चलाउने लगायत अध्ययन अनुसन्धानका कार्यक्रम हुने निर्णय भएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *