सर्लाही, ०४ भदाै । नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल अब ३ वर्ष हुने भएको छ ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल ३ वर्ष कायम गरिने सहमति भएको हो ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा गभर्नर र सञ्चालकको कार्यकाल घटाउने सहमति जुटेको हो ।
अहिले गभर्नर र सञ्चालकको कार्यकाल ५ वर्षको हुन्छ । नयाँ बन्ने ऐनमा गभर्नर र सञ्चालक समितिको कार्यकाल ३ वर्षमा सीमित गर्ने सहमति जुटेको समिति सभापति कृष्णहरि बुढाथोकीले बताए ।
डेपुटी गभर्नर र सञ्चालकको प्रारम्भिक पदावधि ३ वर्षको हुने र कार्यसम्पादन मूल्यांकनको आधारमा सन्तोषजनक देखिएमा नेपाल सरकारले २ वर्ष पदावधि थप गर्न सक्ने व्यवस्था विधेयकमा कायम गर्ने निर्णय गरिएको बुढाथोकीले बताए ।
समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल शुक्रबार पनि हुने कार्यसूची छ ।
