सर्लाही, १३ भदाै । सुवा बाढीमा प्रभावितहरुको उद्धार, राहत र पुनर्स्थापनाका लागि चौधरी ग्रुप र नबिल बैंकले १५ करोड बढी सहयोग गरेका छन् ।
गत बुधबारको बाढीले ठूलो धनजनको क्षति भएपछि सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने व्यवस्था गरेपछि उद्योगी व्यवसायी र सर्वसाधारणबाट कोषमा सहयोग जम्मा भइरहेको छ ।
सोहीअनुसार व्यावसायिक घराना चौधरी ग्रुप र नबिल बैंकबाट १५ करोड बढीको सहयोग प्रदान भएको अर्थ मन्त्रालयले जनाएको छ ।
उद्योग परिसंघबाट ५ करोड २९ लाख १५ हजार सहयोग
यसैबीच, नेपाल उद्योग परिसंघको समन्वयमा परिसंघ सदस्य संस्थाहरुबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड २९ लाख १५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।
अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ टोलीले शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई परिसंघ सदस्य संस्था तथा व्यक्तिगत सहयोग स्वरुप चेक हस्तान्तरण गरिएको हो ।
शुक्रबार अर्थमन्त्री वाग्लेलाई एमएडब्लू गु्रपबाट परिसंघका पुर्व अध्यक्ष विष्णुकुमार अग्रवालले १ करोड ११ लाख, परिसंघ गभर्निङ काउन्सिल सदस्य उद्योगी विजय कुमार शाहले १ करोड रुपैयाँको चेक हस्तान्तरण गरे ।
यस्तै जावलाखेल डिष्टिलरीबाट १ करोड, हिमालयन डिष्टिलरीबाट १ करोड, हिमालयन बुलियन कम्पनीबाट १ करोड एक लाख रुपैयाँ हस्तान्तरण गरिएको छ ।
त्यस्तै, नेपाल आदर्श निर्माण कम्पनीबाट १० लाख रुपैयाँ सहयोगको प्रतिबद्धता आएको छ ।
यसैगरी गुड होम प्रडक्टस्बाट २ लाख २१ हजार, ब्रिटिश कलर इन्डष्ट्रिज्बाट २ लाख १० हजार, लाङटाङ रि ट्रेकिङबाट १ लाख १२ हजार, कास ट्रडिङबाट १ लाख ११ हजार १ सय ११, सिल्भर लाइनिङबाट १ लाख ११ हजार १ सय ११, ग्लोकल प्रा.लि.बाट ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान भएको छ ।
यसअघि परिसंघको समन्वयमा गोर्खा बु्रअरीले १० करोड रुपैयाँ राहत कोषमा सहयोग गरेको छ ।
कोषमा आर्थिक सहयोग गर्ने क्रममा पूर्व अध्यक्ष शतिसकुमार मोर, परिसंघका वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी, उपाध्यक्ष राज बहादुर शाह, राष्ट्रिय परिषद् सदस्यहरु, सहयोग गर्ने संस्थाका प्रतिनिधि, परिसंघ महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी थिए ।
परिसंघले आफ्ना सदस्य संस्था, उद्योगी व्यवसायीहरुलाई रसुवा बाढी प्रभावितहरुको उद्धार, राहत तथा पुर्नस्थापनाका कार्यमा सक्दो सहयोग गर्न अनुरोध समेत गरेको छ ।
