सर्लाही, १४ भदाै । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले विभिन्न देशका सभामुख/अध्यक्षसँग भेटेर नेपाललाई सहयोग गर्न अपिल गरेका छन् ।
इन्टर–पार्लियामेन्ट्री स्पिकर्स कन्फ्रेन्समा सहभागी हुन कम्बोडिया पुगेका अध्यक्ष दाहालले नेपालले अकल्पनीय प्राकृतिक विपद्को सामना गर्नुपरेको बताउँदै ठुलो मानवीय र भौतिक क्षति भएको जानकारी गराए ।
कम्बोडिया सिनेटका अध्यक्ष समदेक तेचो हुन सेन, अष्ट्रेलियाका सभामुख मिल्टन डिक, श्रीलंकाका सभामुख जगत विक्रमरत्ने, पाकिस्तानको सिनेटका अध्यक्ष युसुफ रजा गिलानी र लाओसको राष्ट्रिय सभाका कार्यवाहक अध्यक्ष लगायतसँग छुट्टाछुट्टै भेट गरी नेपाललाई मानवीय सहयोगका लागि अपिल गरेका हुन् ।
भेटवार्ताको क्रममा पाँच वटै देशका सभामुख तथा अध्यक्षहरुले नेपालले भोग्नुपरेको अकल्पनीय पीडामा दु:ख व्यक्त गर्दै नेपाल सरकारसँग समन्वय गरी आ–आफ्नो देशको तर्फबाट मानवीय सहयोग तथा राहतका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको दाहालको सचिवालयले जनाएको छ ।
भेटवार्तामा अध्यक्ष दाहालले द्विपक्षीय सम्बन्ध, आपसी हित र सहयोग आदानप्रदानका लागि अनुरोध गरेका छन् ।
इन्टर–पार्लियामेन्ट्री स्पिकर्स कन्फ्रेन्सको मुख्य सत्रमा कम्बोडिया र पाकिस्तान सिनेटका अध्यक्ष तथा अष्ट्रेलियाका सभामुखले आफ्नो सम्बोधनका क्रममा नेपालले भोग्नुपरेको प्राकृतिक विपद्प्रति दु:ख व्यक्त गर्दै विश्व समुदायलाई सहयोगका लागि अपिल गरेका थिए ।
अन्तर–व्यवस्थापकीय सभामुख/अध्यक्ष सम्मेलनको कम्बोडिया घोषणापत्रमा पनि नेपालले भोग्नुपरेको पीडाप्रति सहानुभूति व्यक्त गर्दै विश्व समुदायलाई सहयोगका लागि अपिल गरिएको छ ।
